महिला टी-२० शृंखला

पहिलो जितको लक्ष्यसहित नेदरल्याण्ड्सविरूद्ध मैदान उत्रँदै नेपाल

काठमाडौं । घरेलु मैदानमा जारी त्रिदेशीय महिला टी-२ शृङ्खलामा लगातार चार खेलमा पराजित नेपाली महिला क्रिकेट टिमले बुधबार नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । नेदरल्याण्ड्ससँगको खेल बुधबार दिउँसो १२:१५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ ।

उपाधि होडबाट बाहिरिएको नेपालमाथि घरेलु मैदानमा जित निकाल्न नसक्दाको दबाब छ । पाहुना टोली नेदरल्याण्ड्स भने यसअघि दुई खेलमा नेपाललाई पराजित गरेकाले उच्च मनोबलका साथ मैदानमा हुनेछ ।

पहिलो खेलमा नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको नेपाल दोस्रो खेलमा थाइल्याण्डसँग चार विकेटले चुक्यो । तेस्रो खेलमा फेरि नेदरल्याण्ड्ससँग १५ रनले पराजित नेपाल चौथो खेलमा मंगलबार थाइल्याण्डसँग मात्र पाँच रनले पराजित भयो। उपाधिको गणितीय सम्भावना कायमै रहेको थाइल्याण्डसँगको खेल मंगलबार नेपालले गुमाएको हो ।

नेपालले ब्याटिङ, बलिङ र फिल्डिङमा केही महत्त्वपूर्ण अवसर गुमाउँदा जितका लागि संघर्ष गर्नु परेको छ । बलिङ राम्रो हुँदा ब्याटिङमा कमजोर देखिएको नेपाल अहिले आफ्नै मैदानमा पहिलो जितका लागि संघर्ष गरिरहेको छ ।

प्रतियोगितामा अपराजित थाइल्याण्ड आठ अंकका साथ शीर्ष स्थानमा छ भने नेदरल्याण्ड्सले चार अंक जोडेको छ । चार खेल खेलिसकेको नेपाल अंकबिहीन अवस्थामा तालिकाको पुछारमा छ ।

नेपालको उपाधि यात्रा समाप्त भइसकेको छ । बुधबार हुने नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाल सान्त्वना जित निकाल्न चाहन्छ । शृङ्खलाको अन्तिम खेलमा नेपालले शुक्रबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =