बलिउड अभिनेता सैफ अली खानलाई ६ पटक चक्कु प्रहार

काठमाडौं । बलिउड अभिनेता सैफ अली खानको घरमा चोरी गर्ने क्रममा उनीमाथि चक्कु प्रहार हुँदा खान घाइते भएका छन् ।

गए राति साढे २ बजे मुम्बईस्थित आफ्नै निवासमा उनलाई ६ पटक चक्कु प्रहार भएको थियो । प्रहारपछि उनका जेठा छोरा इब्राहिम अली खानले अटोरिक्शामा हालेर अस्पताल लगेका थिए ।

घाइते भएका सैफलाई बान्द्राको लीलावती अस्पतालमा उपचार गरिएको छ ।

प्रारम्भिक जानकारी अनुसार खानको घरमा एक अपरिचित व्यक्ति प्रवेश गरेका थिए जसका कारण दुबैबीच झडप भयो । घटनाको समयमा सैफको घरमा परिवारका केही सदस्य मात्र उपस्थित रहेको प्रहरीले बताएको छ ।

भने, घटनाको जानकारी पाए लगत्तै घटनास्थलमा पुगेर अनुसन्धान थालेको बान्द्रा प्रहरीले जनाएको छ । सैफको घरमा छिरेका ती अन्जान व्यक्तिले सैफको घर लुट्ने प्रयास गरेको हो या होइन भन्ने बारे भने अनुसन्धान भइरहेको एक वरिष्ठ प्रहरी अधिकारीले बताए।

छ वटा छुरा प्रहारमध्ये दुई वटा प्रहार सैफलाई गहिरो लागेको थियो। यतिबेला उनी खतरामुक्त रहेको बताइएको छ भने चिकित्सकको टोलीले उनको शल्यक्रिया गरिरहेको छ ।

भारतीय संचारमाध्यमका अनुसार लीलावती अस्पतालका सीईओ डा.निरज उत्तमानी भन्छन्,‘सैफको एउटा चोट उनको मेरुदण्डको नजिक छ। हातको घाउ पनि गहिरो छ । उनको बायाँ हातको शल्यक्रियाका लागी प्लास्टिक सर्जन चाहिन्छ जसका लागी एक न्यूरोसर्जन हामीसँग हुनुहुन्छ। हामी शल्यक्रिया पछि मात्र क्षतिको हद बताउन सक्षम हुनेछौं।’

एक डाक्टरका अनुसार उनको शरीरमा चक्कुको टुक्रा भेटिएको छ भने क्षति के कति भयो भन्नेबारे चिकित्सकले परीक्षण गरिरहेको छ। यद्यपि, सैफले आफ्नो अंगहरू चलाइरहेका छन् जसले उनको मेरुदण्ड ठिक रहेको संकेत गरेको छ।

सैफ पत्नी करीना कपूर र आफ्ना दुई छोराहरू, जेह र तैमुरसँगै बान्द्राको पश्चिमी उपनगरको एक अपार्टमेन्टमा बस्छन्। बान्द्रा फिल्म उद्योगका धेरै स्टारहरूको घर पनि हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 4 =