खबर दिनभर : शीतल निवासमा शीर्ष नेताहरुको माघी,विपिनको रिहाइबारे परराष्ट्रमन्त्रीको फोनवार्ता

सुशासन, विकास र शान्ति नेपालीको अभीष्ट हो : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक सामु विद्यमान समस्या समाधान गर्दै सबैलाई एकजुट भएर अघि बढ्न आव्हान गरेका छन् । माघीका अवसरमा राष्ट्रपति भवनमा आज आयोजित चियापान कार्यक्रममा उनले सुशासन, विकास र शान्ति नेपालीको अभीष्ट भएको बताए ।
राष्ट्रपति पौडेलले हाम्रो संविधान र सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको मूल लक्ष्य पनि देशमा सुशासन, विकास र शान्ति कायम गर्नु नै हो भने ।
उनले विभिन्न जातजातिले उत्सवका रुपमा मनाउने यस प्रकारका पर्वले नेपालीबिच आपसी प्रेम, भ्रातृत्व तथा मेलमिलापको भावना अभिवृद्धि गर्दै सबैलाई एकताको सूत्रमा बाँध्न र राष्ट्रिय एकतालाई सुदृढ गराउन योगदान दिने विश्वास व्यक्त गरे ।
कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्व राष्ट्रपतिद्वय रामवरण यादव र विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्रीहरु, उपप्रधानमन्त्री, मन्त्री, सांसदलगायत उपस्थित थिए ।
पूर्वजले देखाएको बाटोमा लागौँ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजले गरेको खोज, अध्ययनको बाटोमा सबैलाई लाग्न प्रेरणा लिएर अघि बढ्नुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले योग दिवसका अवसरमा आज पूर्वज र प्रकृतिप्रति गौरव गर्दै ज्ञान पैदा गर्ने खोज, अध्ययन र अनुसन्धानको बाटो समाउने प्रयास गर्नुपर्ने बताएका हुन् ।
‘पूर्वजहरूप्रति शिर झुकाएर श्रद्धापूर्वक नमन गर्नुपर्दछ, उनीहरूको आदर्शबाट सिक्ने र उनीहरूको जस्तो ज्ञान पैदा गर्ने खोज, अध्ययन, अनुसन्धानको बाटो समाउने प्रयास गर्नुपर्दछ, जीवनमा त्यसलाई आत्मसात् गर्ने प्रयास गर्नुपर्दछ,’ प्रधानमन्त्री ओलीले भने, ‘योग दिवसले देशभक्ति, पूर्वजहरूप्रति, प्रकृतिप्रति, यो भूखण्ड, यो देशप्रति हामीलाई गर्व गर्न सिकाओस् र त्यसबाट प्रेरणा लिएर अगाडि बढ्न प्रेरित गरोस्, म सबैमा यही शुभकामना व्यक्त गर्न चाहन्छु ।’
दशौँ राष्ट्रिय योग दिवसका अवसरमा प्रधानमन्त्री ओलीले स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग भन्ने आदर्श वाक्यका साथ आज राष्ट्रिय योग दिवस मनाइएको बताए ।
‘योग यस भूमिको उपज, पूर्वजहरू, जसले गणितको, आयुर्वेदको, अन्तरिक्षको अथवा स्वास्थ्य विज्ञानको जुन आविष्कार गर्नुभएको थियो, त्यो असाधारण थियो भन्ने पुष्टि हो यो’ प्रधानमन्त्री ओलीले भने, ‘योगको महत्त्व अझ बढी प्रखर रूपमा प्रकट भएको र मानिसको सबैभन्दा महत्वपूर्ण कुरा हो स्वास्थ्य रहनु हो, शारीरिक र मानसिक रूपले स्वास्थ्य रहनु, स्वास्थ्य रहनका लागि योगअसाधारण उपयोगी छ, साधना र लामा ध्यान चिन्तकका लागि आवश्यक हुन सक्छ ।’
विश्वलाई मानवोचित विश्व बनाउन चाहिरहेका र विश्व भनेको धर्ती र मानव समाज भएको प्रधानमन्त्रीको भनाइ छ । प्रकृति र मानव समाज सन्तुलन कायम यस ठाउँलाई आदियोग भूमि भन्न सक्ने उल्लेख छ । ‘आदियोग गुरु, आदियोगी शिव अर्थात् शम्भुनाथले यसै भूमिबाट हजारौँ वर्षअघि योगको अभ्यास, योगको चिन्तन र योग दर्शन अर्थात् जीवनसँग सम्बन्धित सम्पूर्ण विषय र जीवन र प्रकृतिको सम्बन्धको चिन्तन, ध्यानादि कुराको प्रारम्भ गर्नुभएको थियो’, प्रधानमन्त्री ओलीले भने, ‘त्यसकारण शिवलाई आदियोगी मान्दछौँ । योग आदियोगी शिवबाट शुरू भएको हो । योग कुनै धर्म, जाति वा भूगोल विशेषसँग, कुनै राजनीतिक विचारधारामा सीमित छैन । यो सम्पूर्ण मानव जातिको कल्याणका लागि निर्मित र समर्पित रहेको एउटा यस्तो विधा हो जुन अत्यन्तै वैज्ञानिक ढङ्गले शुरू भएको थियो ।’
प्रधानमन्त्रीको शुभकामनामा भनिएको छ, ‘योग अलिक ओझेल पर्दै गयो, विभिन्न प्रकारका भ्रम, भ्रान्ति पनि यसमा मिसिए, अहिले योग भ्रान्तिबाट मुक्त, मानवीय हित र कल्याणका लागि सम्पूर्णरूपमा समर्पित र व्यापक, विस्तृत हुन जरुरी छ, मानव समाजव्यापी हुन जरुरी छ, यस प्रयासमा जुटेका छौं ।’
प्रधानमन्त्री ओलीले योग कुनै धर्म विशेषसँग सम्बन्धित नभएको र योग अध्यात्मसँग सम्बन्धित नभई दर्शनको सृष्टिभन्दा अगाडि शैव दर्शनसँग सम्बन्धित भएको बताएका छन् । सन्देशमा भनिएको छ, ‘दर्शनकै प्रारम्भ यहीँबाट भयो, योगबाट दर्शनको प्रारम्भ भयो, योगबाट ध्यान, ध्यानबाट चिन्तन, चिन्तनबाट मनन, मननबाट ज्ञान विकास भयो । संयुक्त राष्ट्रसङ्घले सन् २०१४ मा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मान्यो । जसको इतिहासले हाम्रो भूमिसँग १५ हजार वर्ष अगाडिको नाता राख्दछ । यसको सम्बन्ध कपिलवस्तुका कपिलमुनिसँग जोडिएको छ ।त्यसपछि कपिलवस्तुकै सिद्धार्थ गौतम, गौतम बुद्धसँग नाता जोडिएको छ ।’
शीतल निवासमा शीर्ष नेताहरूको माघी
माघे संक्रान्तिको अवसरमा नेताहरू शीतल निवासमा भेला भएका छन् । सो अवसरमा आज बिहान राष्ट्रपति रामचन्द्र पौडेलले माघी पर्वको शुभकामना व्यक्त गरे । शीतल निवासमा आज माघे संक्रान्तीको अवसरमा खाइने घ्यु,चाकु, तरुलको भोजको आयोजना गरिएको हो ।
माघी पर्वको अवसरमा आज शीतल निवासमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वराष्ट्रपतिद्वय डा.रामवरण यादव, विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल, माधव नेपाल लगायतका नेताहरूको उपस्थिति रहेको छ ।
गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघेसङ्क्रान्ति पर्वको अवसरमा आज नुवाकोटको तारुका, बेत्रावतीलगायतका स्थानमा गोरु जुधाई प्रदर्शनी आयोजना गरिएको छ । माघेसङ्क्रान्तिका दिन विभिन्न इतिहाससँग जोडेर मनाइने गरिएको गोरु जुधाई प्रदर्शनीको क्रममा यस वर्ष नुवाकोटको तारुकामा १३ हल, बेत्रावतीमा ११ हलसहित जिल्लाका विभिन्न स्थानमा यस्तो कार्यक्रम आयोजना गरिएको हो ।
तारकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा आयोजित गोरु जुधाईमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ, बागमती प्रदेशसभा सदस्य रमेशकुमार महतसहितले अवलोकन गरे । यसअघि दर्ता भएर जुधाउन १४ हल तयारी अवस्थामा राखेको भए पनि एउटा गोरुको स्वास्थ्यमा समस्या देखिएसँगै १३ हल गोरु जुधाइएको हो ।
गोरु जुधाईको अवलोकनपश्चात् मुख्यमन्त्री तामाङले पशु अधिकारको रक्षा गर्दै संस्कृतिको जगेर्ना, पर्यटन प्रवर्द्धन र खेलकुदको एक विधाको रूपमा गोरु जुधाईलाई व्यवस्थित गर्न आवश्यक रहेको बताए । त्यसका लागि विषयगत मन्त्रालयसँगको सहकार्यमा आवश्यक कार्य अगाडि बढाइने उहाँले प्रतिबद्धता जनाए ।
गोरु जुधाई प्रदर्शनीमा विजेता र उपविजेता भएका गोरुका धनी ९किसान०लाई प्रोत्साहनस्वरुप नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ । जुधाईमा संलग्न भएका गोरुको प्रस्तुति, जुधाईको कलाकौशल गराएका र विजेता भएका सबै गोरुका धनीलाई भिन्नभिन्न विधामा सम्मान गरिएको माघे सङ्क्रान्ति गोरु जुधाई महोत्सव समितिका संयोजक मदन श्रेष्ठले जानकारी दिए ।
यसै अवसरमा आज नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावतीमा ११ हल गोरु जुधाइएको छ । गोरु जुधाई प्रदर्शनी कार्यक्रमका संयोजक सुरज लवटले किसानले पालेका मध्येबाट छनोट गरेर जुधाई प्रदर्शनी गरिएको जानकारी दिए ।
कार्यक्रममा विदुरका नगरप्रमुख राजन श्रेष्ठले कला, संस्कृति र इतिहाससँग जोडिएको गोरु जुधाई संरक्षणमा सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले पछिल्ला वर्षमा नगरपालिकाको आर्थिक सहयोगसहित सहआयोजकको रुपमा भूमिका निर्वाह गर्दै आएकामा आगामी दिनमा वार्षिक नीति तथा कार्यक्रममा समावेश गरेर थप सहयोग गरिने बताए ।
माघेसङ्क्रान्ति पर्वको अवसरमा नुवाकोटको बेलकोटगढी नगरपालिका–५ दुईपिपल, लिखु गाउँपालिका–३ सूर्यमती, पञ्चकन्या गाउँपालिका–३ पिपलडाँडा र नुवाकोटसँग सीमा जोडिएका धादिङका विभिन्न स्थानमा समेत गोरु जुधाई प्रदर्शनी गरेर किसानले माघेसङ्क्रान्ति पर्व हर्षोल्लासका साथ मनाएका छन् ।
गोरु जुधाई प्रदर्शनीको सुरुवात विभिन्न इतिहाससँग जोडेर उल्लेख गरे पनि त्यसको कहीँकतै यकिन तथ्य भने नभएकाले धेरै वर्ष पहिलादेखि नुवाकोटका विभिन्न गाउँठाउँमा यस परम्पराको थालनी भएको पाइन्छ ।
कम्युनिष्ट पार्टीका नेताले मुलुकको नेतृत्व गरेपनि जनता सन्तुष्ट भएनन् : माधवकुमार नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको नेतृत्व कम्युनिष्ट पार्टीका नेताले गरे पनि जनतामा सन्तुष्टि नभएको दाबी गरेका छन् ।
मंगलवार पिस्कर स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपालले यस्तो बताएका हुन् । उनले नेपालको राजनीतिमा पछिल्लो समय धेरै विकृति विसंगतिहरु आएको बताए ।
उनले कम्युनिष्ट पार्टी र नेताले मुलुक चलाउने जिम्मेवारी पाएपनि जनतालाई सन्तुष्टि दिनेगरी काम गर्न नसकेको उल्लेख गरे । उनले मुलुकको नेतृत्व गर्ने नेतृत्व कम्युनिष्ट नेता भएर मात्रै पनि कम्युनिष्ट आन्दोलन माथि नउठ्ने बताए ।
उनले नेपालमा पनि कम्युनिष्ट पार्टीका नेताले राज्य सञ्चालन गरेपनि राम्रो काम गर्न नसकेको आरोप लगाए । उनले विश्वका उदाहरण हेर्दा पनि कम्युनिष्ट पार्टीका नेताहरुले नै कम्युष्टि पार्टीलाई सिध्याएको इतिहास रहेको बताए । अध्यक्ष नेपालले कम्युनिष्टको नाममा गैरकम्युनिष्ट काम कसैले गर्न नहुने धारणा राखे ।
उनले कम्युनिष्ट भएपछि कम्युनिष्टको नाम र मर्यादा राख्दै विगतको त्याग, तपस्या र बलिदानको कीर्तिमान कायम राख्न सक्नुपर्ने उल्लेख गरे । उनले कम्युनिष्ट नेताले एक पटक मात्रै कीर्तिमान कायम गरेर नहुने बताउनु भयो । उहाँले कम्युनिष्ट पार्टीको नेताले जनताको सेवा,मानव कल्याण र समाज परिवर्तनको लागि लगाउन आवश्यक रहेको बताए ।
उनले भने,‘नेपालमा न्यायको पक्षमा आवाज उठाउने कम्युनिष्ट पार्टीहरु पनि छन् । निमुखाको आवाज बोक्ने पनि छन् । अहिलेको राजनीतिमा धेरै विकृति विसंगतिहरु आएका छन् । मुलुक चलाउने जिम्मेवारी पाएका कम्युनिष्ट पार्टीका मान्छे छन् । तर जनता सन्तुष्ट हुन सकेका छैनन् । कम्युनिष्ट भएर मात्रै पनि हुँदैन । कम्युनिष्ट पार्टीका नेताहरुले नै कम्युष्टि पार्टीलाई सिध्याइदिएका छन् । कम्युनिष्टको नाममा गैर कम्युनिष्ट काम गर्नु हुँदैन । कम्युनिष्टको नाम र मर्यादा राख्नुपर्छ । त्याग, तपस्या र बलिदानको कीर्तिमान कायम राख्नुपर्छ । एक पटक कीर्तिमान कायम गरेर हुँदैन । विगतमा खेलेका भुमिकाको प्रशंसा गर्नुपर्छ । जीवन जनताको सेवा,मानव कल्याण र समाज परिवर्तनको लागि लगाउनुपर्छ भन्ने भावना सम्प्रेसन गरी युवाहरुलाई असल बाटोमा लैजान सक्यौं भने मात्रै पिस्करका सहितहरुको सपना पूरा हुन्छ ।’
उनले जनताको सेवा,मानव कल्याण र समाज परिवर्तनको लागि काम गर्ने भावना संप्रेषण गरी युवाहरुलाई असल बाटोमा लैजानसके मात्रै पिस्करका शहीदहरुको सपना पूरा हुने उल्लेख गरे ।
विपिन जोशीको रिहाइको प्रयासमा परराष्ट्रमन्त्री
अतिवादी हमास समूहको नियन्त्रणमा रहेका भनिएका नेपाली युवक विपिन जोशीको रिहाइका लागि सरकारले कूटनीतिक क्रियाशीलतालाई निरन्तर जारी राखेको छ ।
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले हमाससँग सम्पर्कमा रहेका र युद्धविरामका लागि मध्यस्थता गरिरहेका देशहरूलाई जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन आग्रह गरिरहेकी छन् ।
यसै क्रममा अन्तर्गत उनले आज बिहान कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल–खुलाइफीसँग फोनवार्ता गरिन् । मन्त्री खुलाइफी कतार सरकारका तर्फबाट हमाससँगको शान्तिवार्ताका लागि प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुन् ।
परराष्ट्रमन्त्रीले कतारका मन्त्री डा खुलाइफीसँगको फोनवार्तामा हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केही बन्दीलाई अपहरणमुक्त गर्न लागेको समाचार आएकाले जोशीको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरेको परराष्ट्रमन्त्री देउवाको निजी सचिवालयले जनाएको छ ।
उनले कतार नेपालको सदैव हितैषी मित्रराष्ट्र रहेको प्रसङ्ग उल्लेख गर्दै कतारले हमाससँगको सम्पर्कमा रहेर शान्ति वार्ताका लागि युद्धविराम गराउन विशेष पहल गरिरहेकाले जोशीको रिहाइका लागि पनि विशेष पहल गरिदिन अपिल गरेकी थिइन् ।
परराष्ट्रमन्त्रीको निजी सचिवालयका अनुसार प्रत्युत्तरमा कतारी विदेशराज्यमन्त्रीले युद्धविराम र उनले नेपाली युवकको रिहाइलाई अपिल गर्ने कुरा पनि आफूहरूले प्राथमिकतामा राखेको बताउँदै पहिलो चरणमा उनीहरुले केही बन्दी रिहा गर्ने सूचना दिएकाले सकेसम्म पहिलो चरणमै र त्यो सम्भव नभएमा बाँकीको रिहाइका क्रममा जोशी अपहरण मुक्त हुनेमा आफू विश्वस्त रहेको जानकारी मन्त्री देउवालाई दिए ।
यसअघि परराष्ट्रमन्त्रीले इजिप्ट सरकारलाई पनि जोशीको रिहाइमा सहयोग गरिदिन आग्रह गरेकी थिइन् । इजिप्ट सरकार पनि हमासको सम्पर्कमा रहेर युद्धविरामका लागि प्रयासरत छ ।
गत हप्ता पनि उनले नेपालका लागि इजिप्ट र कतारका राजदूतमार्फत दुवै देशसँग जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेकी थिइन् ।
सहकारीको कर्जा परिचालनमा कडाई गर्दै राष्ट्र बैंक
सरकारले अध्यादेशमार्फत सहकारी क्षेत्र व्यवस्थापनसम्बन्धी नयाँ कानुन जारी गरेसँगै नेपाल राष्ट्र बैंकले सहकारी संस्थाको बचत र ऋण व्यवस्थापनलाई व्यवस्थित गर्न नयाँ मापदण्डसहितको मस्यौदा सार्वजनिक गरेको छ ।
पछिल्लो समय ठूलो समस्या देखिएको सहकारी क्षेत्रको वित्तीय गतिविधिमा पारदर्शीता र सन्तुलन ल्याउन राष्ट्र बैंकले सोमबार ‘बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि जारी गरिएको निर्देशन तथा मापदण्ड’ को मस्यौदा सार्वजनिक गरेको हो ।
उक्त मापदण्डको मस्यौदामा सहकारी संस्थाले आफ्ना सदस्यबाट मात्र बचत सङ्कलन गर्न पाउने, कार्यक्षेत्रअनुसार बचत सङ्कलन सीमा तोक्ने, ऋण लगानीका कडाइ गर्ने, उत्पादनशील क्षेत्रको लगानीमा जोड दिनेलगायत विषय राखिएका छन् ।
राष्ट्र बैंकले सहकारी क्षेत्रको अनुशासन र पारदर्शीता सुनिश्चित गर्न यो मस्यौदा ल्याएको जनाएको छ । माघ मसान्तभित्रमा यो मस्यौदामाथि सुझाव दिन आग्रह गरेको छ ।
मस्यौदा मापदण्डमा राखिएको सदस्य बाहेकबाट बचत सङ्कलन गर्न पूर्णतः निषेध गर्ने तथा निश्चित सीमाभित्र मात्रै सङ्कलन गर्न पाउने प्रावधानले गैर–सदस्यबाट हुने जोखिमपूर्ण बचत सङ्कलनको अभ्यासलाई अन्त्य गर्ने अपेक्षा गरिएको छ ।
“बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाले आफ्ना सदस्यबाट मात्र बचत सङ्कलन गर्न सक्ने छ भने यस्तो संस्थाले प्राथमिक पुँजी कोषको पन्ध्र गुणासम्म बचत सङ्कलन गर्न सक्नेछ । संस्थाले बैंक तथा वित्तीय संस्थाबाट कूल सम्पत्तिको पाँच प्रतिशतसम्म वा पुँजी कोषको बढीमा सय प्रतिशतसम्म ऋण लिन सक्नेछ”, मस्यौदामा भनिएको छ ।
बचत तथा ऋणको कारोबार गर्ने संस्थाको बचत सङ्कलन सीमा पनि तोकिएको छ । एउटा जिल्लामा मात्र कार्यक्षेत्र भएको सहकारीले रु १० लाख, एकभन्दा बढी जिल्ला कार्यक्षेत्र भएमा रु २५ लाख र एक प्रदेशभन्दा बढी कार्यक्षेत्र भएमा रु ५० लाखसम्म मात्र बचत सङ्कलन गर्नसक्नेछ ।
संस्थाले साधारण र नियमित प्रकारका बचत खाता सञ्चालन गर्न सक्ने र सहकारीका सदस्यले रू १० लाखभन्दा बढी बचत रकम जम्मा गर्दा अनिवार्य रुपमा स्रोत खुलाउनुपर्ने मस्यौदामा उल्लेख छ ।
त्यस्तै कर्जा प्रवाहमा पनि कडाइ गर्न लागिएको छ । “बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाले सदस्यता लिएको न्यूनतम तीन महिना नपुगेका सदस्यलाई ऋण लगानी गर्न सक्नेछैनन् । संस्थाले प्रति सदस्य प्राथमिक पुँजीकोषको अधिकतम १५ प्रतिशतभन्दा बढी रकम ऋण प्रवाह गर्न सक्नेछैन”, मापदण्डको मस्यौदामा भनिएको छ, “संस्थाले नियमित बचत गरिरहेका सदस्यलाई निजको बचत रकमको पाँच गुणा वा बढीमा रु तीन लाखमध्ये जुन कम हुन्छ सो बराबरको रकममात्र बिना धितो ऋण प्रवाह गर्न सक्नेछ ।”
यसरी बिना धितोकर्जा प्रवाह गर्दा कम्तीमा दुई सदस्यको जमानी लिनुपर्ने तथा सञ्चालकले आफ्नो बचतको सुरक्षणमा प्राप्त हुने ऋण बाहेक कुनै प्रकारको थप ऋण लिन नपाउने व्यवस्था ल्याउन लागिएको छ । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाले सहकारी बैंक र साना किसान लघुवित्त संस्थाको शेयर तथा नेपाल सरकारले जारी गरेको ऋणपत्रमा लगानी गर्न सक्ने व्यवस्था मापदण्डको मस्यौदामा राखिएको छ । यस बाहेक अन्य कुनै संस्थाको शेयर, डिबेन्चरमा लगानी गर्न पाइने छैन ।
सहकारी संस्थालाई घरजग्गा खरिदमा पनि कडाइ गर्न लागिएको छ । “विगत तीन वर्षदेखि निरन्तर खुद मुनाफामा सञ्चालनमा रहेको, सञ्चित नोक्सानी नरहेको र न्यूनतम पुँजीकोष कायम रहको अवस्थामा प्राथमिक पुँजीको बढीमा २५ प्रतिशत वा जगेडा कोषको बढीमा ५० प्रतिशतसम्म हुन आउने रकम बराबरको मात्रै जग्गा वा भवन कार्यालय प्रयोजनका खरिद वा निर्माण गर्न सकिनेछ”, मस्यौदामा भनिएको छ, “यी शर्त विपरीत सम्पति खरिद वा निर्माण गरेमा सो बराबरको रकम प्राथमिक पुँजीकोष गणना गर्दा घटाउनु पर्नेछ ।”
त्यस्तै सहकारी संस्थालाई क्षेत्रगत कर्जा विस्तारमा जोड दिइएको छ । “विशिष्टिकृत संस्थाबाहेक ठूलो कारोबार गर्ने संस्थाले कूल ऋणको न्यूनतम ५० प्रतिशत कृषि, उद्योग र व्यवसाय सञ्चालन तथा विस्तारलगायत उत्पादनमूलक क्षेत्रमा प्रवाह गर्नुपर्नेछ”, मापदण्डको मस्यौदामा उल्लेख छ, “उक्त सीमा हाल कायम नरहेमा २०८३ असार मसान्तसम्म कायम गर्नुपर्नेछ । संस्थाले कृषि, उद्योग र व्यवसायको लागि ऋण प्रवाह गर्दा किस्ता÷ब्याज भुक्तानी गर्न उपयुक्त ग्रेस अवधि प्रदान गर्न सक्नेछ ।”
बचत तथा ऋणको कारोबार गर्ने संस्थाले सदस्यको बचतको सुरक्षणमा बढीमा ९० प्रतिशतसम्म ऋण प्रवाह गर्न पाउने व्यवस्था ल्याउन लागिएको छ । अचल सम्पत्तिको धितोमा ऋण प्रवाह गर्दा महानगरपालिका तथा उपमहानगरपालिकामा रहेको धितो मूल्याङ्कनको बढीमा ५० प्रतिशतसम्म र नगरपालिका तथा गाउँपालिकामा रहको धितोको हकमा बढीमा ६० प्रतिशतसम्म ऋण प्रदान गर्न सक्ने मस्यौदामा उल्लेख छ ।
बचत तथा ऋण सहकारी संस्थाको ऋण पुनर्रसंरचना तथा पुनर्रतालिकीकरणसम्बन्धी व्यवस्था पनि मापदण्डको मस्यौदामा राखिएको छ । “विशेष परिस्थितिमा नियमनकारी निकायबाट निर्देशन जारी भएको अवस्थामा ऋणीले उचित कारणसहित लिखित अनुरोध गरेमा सञ्चालक समितिको निर्णयअनुसार निश्चित अवधिका लागि मात्र ऋण पुनर्तालिकीकरण वा पुर्नसंरचना गर्न सकिनेछ”, मस्यौदामा भनिएको छ, “पुनर्रसंरचना वा पुनर्रतालिकीकरण गर्ने समयमा सक्रिय वर्गमा वर्गीकरण भइरहेका ऋणलाई पुनर्तालिकीकरण वा पुर्नसंरचना गरिएमा साढे १२ प्रतिशत ऋण नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ ।”
यस वर्षको एसईई आगामी चैत ७ गतेदेखि
२०८१ सालको एसईई परीक्षाको तालिका सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सार्वजनिक गरेको तालिका अनुसार एसईई परीक्षा चैत ७ गतेदेखि सुरु हुनेछ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ ।
यस दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा हुनेछ । दोस्रो दिन चैत ८ गते अनिवार्य नेपाली विषयको परीक्षा हुने छ । यस दिन गैरनेपाली विद्यार्थीहरुका लागि अंग्रेजी (इलेक्टिभ इङ्गलिस) को परीक्षा हुनेछ ।
चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयको तालिकामा उल्लेख छ ।
मंगलबार घट्यो सुनको मूल्य
नेपाली बजारमा साताको तेस्रो कारोबार दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९मंगलबार० सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको हो ।
छापावाल सुन प्रतितोला १ लाख ५५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला १ लाख ५५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य ४० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय २० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
बजेट अर्धवार्षिक समीक्षा : सरकारको आम्दानी र खर्च निकै कमजोर
चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानी र खर्च निकै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयकाअनुसार पुस मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको ३९ प्रतिशत आम्दानी र ३५ प्रतिशत खर्च गरेको छ ।
सरकारले चालु आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड ३० लाखको बजेट ल्याएको थियो । पुस मसान्तसम्ममा छ खर्ब ६७ अर्ब ६० करोड १९ लाख बराबर खर्च भएको छ । यो अवधिको खर्च वार्षिक लक्ष्यको ३५ दशमलव ८९ प्रतिशत हो ।
चालुगत शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख बजेट छुट्याइएकोमा हालसम्म ३९ दशमलव ६३ प्रतिशत अर्थात् चार खर्ब ५२ अर्ब खर्च भएको छ ।
पुँजीगत शीर्षकको खर्च झनै कमजोर छ । यो शीर्षकमा तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख वार्षिक बजेट विनियोजन भएकोमा पुस मसान्तसम्ममा १६ दशमलव १६ प्रतिशत अर्थात् ५६ अर्ब ९३ करोड ५० लाख बराबर मात्र खर्च भएको छ ।
वित्तीय व्यवस्था शीर्षकको हालसम्मको खर्च ४३ दशमलव दुई प्रतिशत छ । यो शीर्षकमा तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख बराबर बजेट विनियोजन भएकोमा हालसम्म एक खर्ब ५८ अर्ब ६६ करोड ३९ लाख बराबर खर्च भएको छ ।
सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख राजस्व उठाउने लक्ष्य राखेको छ । गत पुस मसान्तसम्ममा पाँच खर्ब ७४ अर्ब ७६ करोड ७९ लाख राजस्व उठेको छ ।
यो वार्षिक लक्ष्यको ३९ दशमलव ०६ प्रतिशत हो । कर राजश्वतर्फ ३८ दशमलव ११ प्रतिशत अर्थात् चार खर्ब ८९ अर्ब ३९ करोड ९२ लाख र गैरकर राजस्वतर्फ ५१ दशमलव ९७ प्रतिशत अर्थात् ७० अर्ब २० करोड ८२ लाख सङ्कलन भएको छ ।
सरकारले चालु आर्थिक वर्षका लागि ५२ अर्ब ३२ करोड ६५ लाख वैदेशिक अनुदान सहायता लिने लक्ष्य लिएकामा हालसम्म सात अर्ब ३७ करोड छ लाख बराबर वैदेशिक सहायता प्राप्त भएको छ ।
मधेसकेन्द्रित दलहरू मोर्चाबन्दीको कसरतमा, संविधान संशोधनमा एकमत
नेपाली काँग्रेस र नेकपा (एमाले) नेतृत्वको सरकारले संविधान संशोधन गर्ने चर्चासँगै मधेसकेन्द्रित दलहरू मोर्चाबन्दीको कसरतमा जुटेका छन् ।
विभिन्न कालखण्डमा भएका आन्दोलनबाट प्राप्त उपलब्धि र सिमान्तकृत वर्गको अधिकार रक्षाका लागि भन्दै मधेशकेन्द्रित दलहरुले मोर्चाबन्दीको कसरतमा जुटेका हुन् ।
आन्तरिक विवाद र नेतृत्व हत्याउन कै लागि फुटाएर गएका मधेसकेन्द्रित नेताहरुलाई संविधान संशोधनल एक ठाउँमा ल्याउने विश्वास उनीहरुको छ ।
अहिले संसदभित्र र संसदबाहिर १० वटा मधेसकेन्द्रित राजनीतिक दलहरु सक्रिय रहेका छन् । संविधान संशोधनबारे साझा धारणा बनाउन केही दलहरुले वार्ता समिति समेत गठन गरेका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का महासचिव डा।सुरेन्द्र झाले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको लाई पुरानै अवस्थामा फर्काउन संवादको थालनी भएको बताए ।
मंगलवार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै डा।झाले संविधान संशोधन मधेसवादी दलहरुको समेत एजेण्डा भएको उल्लेख गर्दै साझा धारणा बनाउन समिति गठन गरिएको बताए ।
संविधान संशोधन सरकारको मुख्य कार्यभार भएकै कारण लोकतान्त्रि समाजवादी पार्टी सरकारमा सहभागि भएको उनले स्पष्ट पारे । संविधान संशोधनका सम्बन्धमा मधेसकेन्द्रित दलहरु एक ठाउँमा आउन जरुरी रहेको उनले बताए ।
उनले नेपाली कांग्रेसका केही नेताहरुले दुई संविधान संशोधनमार्फत दुई दलीय व्यवस्था ल्याउनुपर्ने तर्कहरु गरेको उल्लेख गर्दै आफूहरुलाई स्विकार्य नहुने बताए ।
उनले संविधानले नै बहुलवादलाई अंगालेको उल्लेख गर्दै प्रतिगमनतिर गरिने संशोधन मुलुकको लागि घातक हुने बताए । ‘मधेसकेन्द्रित राजनीतिक दलहरु संसदभित्र र संंसदबाहिर गरेर १० वटाजति छन् । सबै पार्टीहरुको बीचमा संवादको थालनी भएको छ । तीनवटा मधेस आन्दालेन गर्दाखेरि वि।स। २०६४ सालमा सरकारसँग ८ बुँदे सम्झौता गरेका थियौं । त्यसमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको अगुवाईमा त्यो सहमति भएको थियो । त्यसपछि धेरै टुटफुट भएर अलग पार्टीहरु दर्ता गर्नु भएको छ । अहिलेको परिस्थितिल हामीलाई एक ठाउँमा ल्याइदिएको छ । संसदमो मधेसको नेतृत्व गर्ने २८ जना सांसदहरु छौं तर हाम्रो बार्गेनिङ पावर कम छ । हामीले विभिन्न आन्दोलनहरु सँगै गरेको कारणले साझा धारणाहरु हामीले बनाउनुपर्ने देखिन्छ’ उनले भने ।
मधेसी एकता समाजको बैठकअघि स्वतन्त्र सांसद अमरेशकुमार सिंहले वर्तमान सरकारले समान्तकृत समूदायको अधिकार कटौति गरिरहेको आरोप लगाए ।
उनले राज्यका निकायहरुमा सिमान्तकृत समूदायको प्रतिनिधित्व कम भइरहेको उल्लेख गर्दै वर्तमान सरकारबाटै वर्तमान व्यवस्था र संघीयतामाथि खतरा रहेको बताए ।
उनले जनताको अधिकार तथा कुनैपनि बहानामा कुण्ठित गर्न नपाइने बताए । त्यस्तै उनले वर्तमान सरकार भागबण्डाको राजनीति गरिरहेको आरोप लगाए ।
७२ वटा जिल्लामा भूमि आयोग गठन गरिएको उल्लेख गर्दै उनले त्यसमा भाग लगाउनु न्यायोचित नभएको उनको भनाइ छ ।
उनले सरकार गुठगत राजनीति गरिरहेको उल्लेख गर्दै त्यसका विरुद्ध मधेसवादी दलहरु एक ठाउँमा उभिन जरुरी रहेको बताए ।‘अहिलेको जुन सरकार छ त्यसलाई दुई तिहाईको सरकार भनिएको छ । संसदलाई फेस गर्न नसक्ने अवस्थामा छ,’उनले भने‘खासगरि सिमान्तकृत समूदाय मधेसी होस्, दलित होस् वा महिला हुन् उनीहरुको अधिकार दिनप्रतिदिन कटौति भइरहेको छ । कुनैपनि राजनीतिक संयन्त्रहरुलाई राज्यले चिन्दैन । सरकार जसरि गुटगत स्वार्थका लागि बढिरहेको छ त्यसका विरुद्धमा हामी एकतावद्ध हुन जरुरी छ ।’
गत असार १७ गते संसदका दुई ठुला दल कांग्रेस–एमालेबीच संविधान संशोधनसहित सात बुँदै सहमति भएको थियो । यद्धपी सरकारले संविधान संशोधनको लागि आवश्यक गृहकार्य भने सुरु गरिसकेको छैन ।
भर्खरै प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल संविधान संशोधन नहुने बताउनु भएको थियो । उनले २०८७ सालमा मात्रै संविधान संशोधन गर्न सकिने टिप्पणी गरेका थिए ।
इजरायल-हमास प्रारम्भिक आदान-प्रदानमा गाजाबाट ३३ बन्धक मुक्त हुने
कतारमा भइरहेको गाजा युद्धविराम सम्झौताको पहिलो चरणमा ३३ इजरायली बन्धक रिहा हुने वार्तासँग सम्बन्धित स्रोतहरू र इजरायली मिडियाले मङ्गलबार बताएका छन् ।
मध्यस्थकर्ताहरू कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाले हालैका दिनहरूमा सम्झौता गर्ने प्रयासहरू तीव्र पारेका छन् र वार्ताबारे जानकार एक स्रोतले मङ्गलबार एएफपीलाई दोहामा ‘अन्तिम चरणको वार्ता’ सुरु हुने बताएको थियो ।
वार्तासँग सम्बन्धित दुई स्रोतले नाम नखुलाउने सर्तमा एएफपीलाई प्रारम्भिक आदान–प्रदानमा इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा ३३ बन्धक रिहा गरिने बताए ।
यी बन्धकहरू सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि गाजा पट्टीमा बन्दी बनाइएका ९४ जनामध्येका हुन् । यो सङ्ख्यामा इजरायली सेनाले मृत भनेका ३४ जना बन्दी समावेश छन् ।
टाइम्स अफ इजरायल समाचार वेबसाइटले वार्तासँग परिचित इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै ‘सम्झौताको पहिलो चरणमा ३३ वटा मानवीय मामिला समावेश छन्’ भनी रिपोर्ट गरेको छ । वार्तासँग सम्बन्धित दुई स्रोतमध्ये एकका अनुसार सम्झौताको पहिलो चरणमा ३३ इजरायली बन्धकलाई समूहमा रिहा गर्ने व्यवस्था छ, जसमा पहिले बालबालिका र महिलाहरूलाई रिहा गरिनेछ ।
टाइम्स अफ इजरायलको रिपोर्टअनुसार इजरायली अधिकारीहरूले प्रस्तावित प्रारम्भिक आदान–प्रदानमा समावेश ३३ जना बन्धक जीवित रहेको विश्वास गरेका छन् । यद्यपि इजरायल उनीहरूको स्थितिको पुष्टिको प्रतीक्षामा रहेको रिपोर्टमा उल्लेख छ ।
“यदि पहिलो चरण सम्पन्न भयो भने सम्झौता लागु भएको १६ औँ दिनमा इजरायलले बाँकी बन्दीहरूलाई मुक्त गर्न दोस्रो चरणमा वार्ता सुरु गर्नेछ”, रिपोर्टमा भनिएको छ, “यसमा पुरुष सैनिकहरू, सैन्य उमेरका पुरुषहरू र मारिएका बन्धकहरूको शवहरू समावेश छन् ।”
गत हप्ता हमासले बहु–चरण सम्झौताको पहिलो चरणमा ३४ जना बन्धकलाई रिहा गर्न सहमत भएको सङ्केत गरेको थियो । इजरायली मिडियाले मङ्गलबार प्रस्तावित सम्झौताअन्तर्गत पहिलो चरणको कार्यान्वयनका क्रममा इजरायललाई गाजाभित्र बफर जोन कायम राख्न अनुमति दिइने पनि बताएको छ ।
“इजरायली सेनाले सबै बन्धक फिर्ता नगरेसम्म गाजाबाट फिर्ता हुने अपेक्षा गरिएको छैन, तर यसले दक्षिणी गाजाबाट बासिन्दाहरूलाई पट्टीको उत्तरतिर जान अनुमति दिनेछ”, वामपन्थी झुकाव भएको अखबार हारेट्जले भनेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार युद्धविराम र बन्धक मुक्तिको सम्झौता लगभग अन्तिम भएको र यो उहाँले मे महिनाको अन्त्यमा सार्वजनिक गरेको तीन चरणको युद्धविराम योजनामा आधारित रहेको बताए ।
“इजरायल र हमासबीचको युद्धमा हामी एउटा प्रस्ताव‘ अन्ततः साकार हुने अवस्थामा पुगेका छौँ”, बाइडेनले विदेश मन्त्रालयमा बिदाइ भाषणमा भने । वार्ताका मुख्य अड्चनका विषयहरू कुनै पनि युद्धविरामको स्थायित्व र प्यालेस्टिनी क्षेत्रका लागि मानवीय सहायताको मापनमा असहमति रहेको छ ।
अन्य विवादका विषयहरूमा विस्थापित गाजावासीहरूको घर फिर्ती, प्यालेस्टिनी क्षेत्रबाट इजरायली सेनाको फिर्ती र सीमा नाकाहरू पुनः खुला गर्ने विषय समावेश छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाबाट इजरायली सेनाको पूर्ण फिर्तीलाई दृढतापूर्वक अस्वीकार गर्नुभएको छ र त्यस क्षेत्रमा प्यालेस्टिनी शासनको विरोध गरेका छन् ।
वार्तासँग परिचित एक स्रोतका अनुसार कतारमा भइरहेका वार्ताहरू हमास र इजरायली वार्ताकारहरू दुई अलग–अलग कोठामा उपस्थित भएर सञ्चालन भइरहेका छन् । मिडिया रिपोर्टहरूका अनुसार कुनै पनि सम्झौताले इजरायली मन्त्रिमण्डलको स्वीकृति आवश्यक पर्ने सम्भावना छ ।
गण्डकीलाई सात विकेटले हराउँदै सुदुरपश्चिम विजयी
प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आज (मंगलबार) देखि धनगढीमा सुरू भएको छ । उद्घाटन खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई सात विकेटले हराएको छ ।
फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको गण्डकी प्रदेशले निर्धारित २० ओभरको खेलमा सात विकेटको क्षतिमा ५५ रन बनायो । जितका लागि पाएको ५६ रनको लक्ष्य सुदूरपश्चिमले ९ दशमलव ५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो ।
सुदूरपश्चिमका लागि रेवती धामीले अविजित २१ रन बनाइन् । बलिङतर्फ गण्डकीका लागि आकृति तिवारी र अपेक्षा बुढाथोकीले एक एक विकेट लिइन् ।
यसअघि ५५ रन बनाउने क्रममा गण्डकीका लागि रेखा तामाङले १३ र कप्तान सिर्जना पौडेलले १० रन बनाइन् ।
बलिङतर्फ सुदूरपश्चिमकी रेवती धामीले ४ तथा ऋतु कनौजिया र जानकी थापाले एक एक विकेट लिइन् । रेवती ‘प्लेयर अफ दी म्याच’ घोषित भइन् ।प्रतियोगिताको एक समारोहबीच सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य प्रकाश देउवाले उद्घाटन गरेका थिए ।
समारोहमा नेपाल क्रिकेट सङ्घ ९क्यान० का अध्यक्ष चतुरबहादुर चन्द, सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक गणेश चन्द, धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला कुमारी राना, ओलम्पियन दीपक विष्ट, सुदूरपश्चिम खेलकुद परिषद्का अध्यक्ष दीपकबहादुर सिंह, क्यान कोषाध्यक्ष पदम खड्का, सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष बाशुदेव जोशीलगायतको उपस्थिति थियो ।
राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार क्यानको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा सञ्चालन भएको प्रतियोगिता यही माघ १२ गतेसम्म चल्नेछ ।
प्रतियोगितामा सात प्रदेश तथा दुई विभागीय टोली एपिएफ क्लब र आर्मी क्लब सहभागी रहेका सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मण भट्टले जानकारी दिए । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश तथा समूह ‘बी’ मा कोशी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र त्रिभुवन आर्मी क्लब छन् । प्रतियोगिताको उपाधि जित्नेले रु पाँच लाख, दोस्रो हुनेले रु तीन लाख, प्लेयर अफ दी सिरिजलाई रु ५० हजार तथा बेस्ट ब्याटर र बेस्ट बलरलाई रु २५र२५ हजार पुरस्कार दिइनेछ ।








