अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा दुई अधिकारकर्मी सम्मानित

विराटनगर । मानव अधिकार दिवसको अवसरमा मंगलबार मोरङमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ। विराटनगरमा मानव अधिकार सञ्जालले आयोजना गरेको ७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा मानव अधिकार संरक्षणको क्षेत्रमा काम गर्ने दुई जना अधिकारकर्मीलाई सम्मान गरिएको छ ।

गैरसरकारी संस्था महासङ्घका पूर्व अध्यक्ष एवं महिला जागृति केन्द्रका अध्यक्ष प्रभा अधिकारी र सिविन नेपालका संयोजक वासु अधिकारी सम्मानित भएका हुन् ।

लामो समयदेखि मानव अधिकारको क्षेत्रमा काम गर्दै आएका दुवै अधिकारकर्मीलाई दोसल्ला तथा सम्मान पत्रबाट सम्मानित गरिएको थियो । सन् २०११ देखि सुरु गरेको सम्मान कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिँदै आएको मानव अधिकार सञ्जाल मोरङका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए ।

उनका अनुसार, हरेक वर्ष मानव अधिकारको क्षेत्रमा काम गर्ने एक जना महिला र एक जना पुरुष गरी दुई जनालाई वर्ष उत्कृष्ट मानव अधिकारकर्मीको रूपमा सम्मान गर्ने गरिएको छ।

कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले मानव अधिकार विषय सङ्घ संस्थाको मात्र नभई सबै क्षेत्रसँग जोडिएको बताए । वर्षमा एक दिन भए पनि मानव अधिकार संरक्षणको विषयलाई अभियानको रूपमा उठान हुँदा पनि धेरै अधिकारहरू स्थापित हुँदै गएको बताए ।

१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान मानव अधिकार दिवसको दिन अन्त्य हुने भएकोले नोभेम्बर २५ देखि डिसेम्बर १०सम्म १६ दिनसम्म मानव अधिकारका विषयहरूमा व्यापक छलफल हुने गरेको बताए ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराईले सम्मानित भएका मानव अधिकारकर्मीहरूले बाल अधिकार र बाल संरक्षणको क्षेत्रमा लामो समयसम्म योगदान गरेकोमा प्रशंसा गरे ।

विराटनगर महानगरपालिका, महिला मानव अधिकार रक्षक सञ्जाल, गैसस महासङ्घ मोरङ र रिकभरी नेपालको समन्वयमा भएको कार्यक्रमको आयोजना मानव अधिकार सञ्जालले गरेको थियो । कार्यक्रममा दुई दर्जन बढी मानव अधिकारको क्षेत्रमा काम गर्ने सङ्घ संस्थाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − twelve =