महानिर्देशक अधिकारीको दाबी- पाइलटहरूले हवाई सुरक्षाको नियम पालना नगर्दा धेरै दुर्घटना भयो

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हवाई सुरक्षाको नियम पाइलटहरूले पालना नगर्दा धेरै हवाई दुर्घटना भएको बताएका छन् ।
बिहीबार वायुसेवा सञ्चालक संघले हवाई सुरक्षा सम्बन्धी कार्यक्रममा बोल्दै महानिर्देशक अधिकारीले यस्तो बताएका हुन् । उनले नेपालको हवाई सुरक्षामा दाग लागेको ९८ वटा दुर्घटना हवाई सुरक्षा नियम लागू नगरेर भएको दाबी गरे ।
उनले नेपालका पाइलटहरूले नागरिक उड्डयन प्राधिकरणले बनाएको नियम भन्दा बाहिर गएर खराब मौसममा भित्र जहाज लैजाँदा दुर्घटना भएको बताए । उनले नेपाली पाइलटहरूले गोर्खाली बहादुरी धेरै देखाउँदा ९८ वटा दुर्घटना बादलभित्र जहाज लैजाँदा भएको प्रमाणित भइरहेको उल्लेख गरे ।
उनले हवाई दुर्घटना वृद्धि हुँदा अनुभवी पाइलट र राज्यले धेरै क्षति व्यहोरेको भन्दै अब हवाई उडानलाई सुरक्षित बनाउने विषयमा गम्भीर हुन आवश्यक रहेको बताए । उनले नेपालमा विश्वमा नभएका हवाई दुर्घटना नेपालमा भएको भन्दै नेपालमा भएका धेरै हवाई दुर्घटनाहरू बादलभित्र वा खराब मौसममा छिर्दा पहाडमा ठोक्किने र जंगलमा ठोकिएर भएको बताए ।
उनले भिएफआर उडानमा खराब मौसम हेरेर उडान गर्नुपर्ने नियम बनाएको भएपनि पाइलटहरूले पालना नगरेको बताए । उनले तथ्याङ्क हेर्दा धरै अग्रज पाइलटहरूको हवाई दुर्घटनामा मृत्यु भएको बताए । उनले जहाजमा गम्भीर समस्या भएर हवाई दुर्घटना नभएको उल्लेख गरे ।
उनले हवाई सञ्चालकहरू पनि धेरै माथि जान वा पैसा कमाउन हतार भएकाले शेयर होल्डरले उडान नगर भन्दा रेगुलेटर विरुद्ध सर्वोच्च पुगेकाले ठूलो क्षति हुन पुगेको दाबी गरे । उनले पछिल्लो दुई वर्षमा धेरै शेयर होल्डर पाइलटहरू हेलिकप्टर दुर्घटना भएर मृत्यु भएको भन्दै यसको जिम्मा कसले लिने भन्दै सञ्चालकहरूलाई प्रश्न गरे ।
उनले शेयर होल्डरले हेलिकप्टर उडान नगर भनेर सर्कुलर विरुद्ध सर्वोच्च गएर उडान गर्दा कति शेयर होल्डर पाइलटहरू दुर्घटनामा परेकाले सञ्चालकहरूले सोच्न आवश्यक रहेको बताए । उनले हवाई दुर्घटना हुनुको मुख्य समस्या पाइलटले खराब मौसममा बादलभित्र जहाज लैजान भएको भन्दै अन्य कुनै समस्या नभएको बताए । उनले हवाई दुर्घटनाको समस्या ठाउँमा भए पनि सरकारले औषधि अन्य ठाउँमा लगाई रहेको बताए ।
उनले भने ‘पाइलटहरूमा गोर्खाली बहादुरी धेरै भयो जस्तो लाग्छ । तथ्याङ्क हेर्दा धरै सिनियर पाइलटहरूको हवाई दुर्घटनामा मृत्यु भएको छ । धेरै राम्रा मान्छेहरू गुमायौँ ।’
उनले लगानीकर्ताले हेलिकप्टर उडान गर्न नहुने भन्दै सञ्चालकहरू तयार हुन आवश्यक रहेको बताए । उनले सञ्चालकहरूले सर्वोच्च गएर गलत गरिए भन्ने र फेरि उक्त नियम लागू गर्नु आवश्यक रहेको बताए ।








