दुई हजार चार सय ९७ पिन्ट रगत वितरण

कैलाली । नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रले गत आर्थिक वर्षमा दुई हजार चार ९७ पिन्ट रगत वितरण गरेको छ । केन्द्रले दुई हजार पाँच सय ५९ पिन्ट रगत सङ्कलन गरेको थियो ।

केन्द्रमा १८ पिन्ट रगत बाँकी रहेको भन्दै २१ पिन्ट अन्य रक्तसञ्चार केन्द्रमा पठाइएको र २३ पिन्ट रगत म्याद गएर खेर गएको रेडक्रस टीकापुर उपशाखाका सभापति दत्तबहादुर विष्टले जानकारी दिए । उनका अनुसार वितरण भएको रगतमध्ये दुई हजार एक सय ८७ पिन्ट टीकापुर अस्पतालमा र बाँकी कैलालीका निजी अस्पतालमा खपत भएको छ । सबैभन्दा बढी नौ सय २२ पिन्ट ‘बी’ पोजेटिभ र सबैभन्दा कम तीन पिन्ट ‘एबी’ नेगेटिभ रगत वितरण गरिएको छ ।

रेडक्रसले विभिन्न सङ्घसंस्था, विद्यालय, प्रहरी तथा समूहसँग रक्तदान कार्यक्रममार्फत रगत सङ्कलन गरेको विष्टको भनाइ छ । टीकापुर अस्पतालमा दैनिक शल्यक्रिया हुन थालेपछि रगतको माग बढ्दै गएको छ ।

केन्द्रको तथ्याङ्कअनुसार सङ्कलन भएको रगतमध्ये एक हजार सात सय पिन्ट रगत महिलामा प्रयोग हुने गरेको छ । टीकापुर अस्पतालमा शल्यक्रियामार्फत सुत्केरी गराउने र सुत्केरी हुने बेला अत्यधिक रक्तस्राव हुँदा रगत आवश्यक पर्ने अस्पतालका स्त्री रोग विशेषज्ञ डा सञ्जयकुमार दासले बताए । शल्यक्रिया गर्दा दुई/तीन पिन्टसम्म रगत आवश्यक पर्दछ । टीकापुर अस्पतालमा अहिले स्त्रीरोगबाहेक हाडजोर्नीको पनि शल्यचिकित्सकमार्फत शल्यक्रिया हुने गरेको उनले जानकारी दिए ।

अस्पतालमा आउने सिकलसेलका बिरामीले मासिक तीन पिन्टसम्म रगत लिने गरेका केन्द्रका कर्मचारी अरुण चौधरीले बताए । ‘रगतको माग बढिरहेको छ, सङ्कलन कम हुँदा समस्या हुन्छ’, उनले भने । कैलाली र बर्दियाको करिब ५० प्रतिशत नागरिक टीकापुरको रक्तसञ्चार केन्द्रका भरमा पर्ने उनको भनाइ छ । ‘रक्तदान गर्ने वानीको विकास गर्न सचेतना आवश्यक छ, यसमा सबैले सहयोगी भूमिका खेल्नुपर्छ । केन्द्रले हरेक ग्रुपको एक/दुई पोका रगत भण्डारण गरेर राख्ने गरेको छ’, चौधरीले भने, ‘रगत लिन आउनेले पनि दिने मान्छे खोज्ने नियम बनाएका छौँ, तर कार्यान्वयन भएको छैन ।’

रगतको माग बढ्दै जाने र रक्तदान गर्नेको सङ्ख्या घट्दै जाँदा रगत अभाव हुने रेडक्रस टीकापुर उपशाखाका सभापति विष्टले बताए । ‘वार्षिक दुई हजार पाँच सय बढी पिन्ट रगत वितरण गर्नु सामान्य होइन । सङ्कलनमा नै समस्या छ, रक्तदान गर्न नागरिक मान्नुहुँदैन’, उनले भने ।

रगत ‘सेप्रेसन’ मेसिन भएमा सेवाग्राहीलाई उपलब्ध गराउन सहज हुने विष्टको भनाइ छ । ‘स्थानीयदेखि सङ्घीय सरकारसँग ‘सेप्रेसन’ मेसिनका लागि पहल गरेका छौँ, अहिलेसम्म सुनुवाइ भएको छैन’, उनले भने । सेप्रेसन मेसिन भएमा दुई हजार पाँच सय पिन्ट रगतले यस क्षेत्रको माग धान्ने जनाउँदै विष्टले सेप्रेसन मेसिनमार्फत एक पिन्टबाट चारजनालाई आवश्यक पर्ने रगत उपलब्ध गराउन सकिने उल्लेख गरे ।

अहिले टीकापुर र भजनी नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकाले निःशुल्क रुपमा एक व्यक्तिलाई तीन पिन्टसम्म रगत उपलब्ध गराउने गरेका छन् । यसबापत ती पालिकाले रेडक्रसलाई एकमुष्ट रकम भुक्तानी गर्दछन् । यो कार्यक्रम विगत पाँच वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको सभापति विष्टले जानकारी गराए ।

वि.सं २०६६ देखि सञ्चालनमा आएको रक्तसञ्चार केन्द्रले स्थापनाकालमा आकस्मिक सेवा दिने गरेको थियो । रेडक्रसले आफ्नै पहलमा केन्द्र सञ्चालन गरी चौबिसै घण्टा सेवा प्रवाह गरिरहेको छ ।

अनुदान नपाउँदा घर निर्माण अधुरै

विदुर नगरपालिका–८ का रमेश पौडेलको बसोबास गर्दै आएको घर नजिकै निरन्तर बगिरहेको खात्रे खोला (केउरिनी) पहिरोको उच्च जोखिममा छ । सरकारले सुरक्षित स्थानमा नयाँ आवास बनाउन वि.सं २०७८ चैतमा पहिलो किस्ताबापत ५० हजार दिएसँगै पौडेलले घरको जग हाले । थप रकम नपाउँदा घर निर्माण अधुरै रहेको उनले बताए ।

‘पहिरो अनुगमन गर्न गाउँ आएका सरकारी प्राविधिकले जोखिम भएको ठाउँमा बस्न हुँदैन, सुरक्षित स्थानमा घर बनाउनुहोस् भनेका छन् । सरकारले अनुदान दिने व्यवस्था छ भनेपछि घर बनाउन सुरु गर्‍यौँ’, उनले भने, ‘हामीले पनि रकम थप्न सकेनौ । सरकारी अनुदान पनि हालसम्म पाइएन । सुरक्षित ठाउँको घर अधुरै हुँदा जोखिम भनेको स्थानमा नै बसिरहेका छौँ ।’

पौडेल जस्तै विदुर–८ केउरिनी पहिरोबाट विस्थापित भएका दश परिवारले सुरक्षित स्थानमा घर बनाउन अनुदान सहयोग नपाउँदा जोखिमको घरमा बसोबास गर्दै आइरहेका छन् । पहिरो नियन्त्रण गर्न र सुरक्षित स्थानमा घर बनाउन सरकारी सहयोग खोज्दै वडा, पालिका तथा प्रशासनसम्म पुगे पनि आश्वासन मात्र पाएको पहिरो पीडित सङ्गीता तामाङले गुनासो गरिन् । ‘बालबच्चा जोगाउन कोलनी बजारमा कोठा लिएर राखेका छौँ । आफूहरू भने खेतीपाती र पशुचौपाय कुरेर पहिरोको उच्च जोखिम भएको घरमै बस्दै आएका छौँ’, उनले भनिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =