संसद भवनको निर्माण कार्य समयमै पूरा गर्न सक्दो प्रयास गर्नेछु : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारस्थित निर्माणाधिन संघीय संसद भवन थपिएको समयसीमा भित्रै निर्माण कार्य पूरा गर्न आफूले सक्दो पहल गर्ने बताएका छन् ।
शुक्रवार सिंहदरबारमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायतका संघीय संसदका पदाधिकारीहरुले सो भवनको निर्माण कार्यप्रति सम्बन्धित निकायसँग चासो व्यक्त गरेपछि उनले सो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
उपप्रधानमन्त्री सिंहले आफू भर्खरै मन्त्रालयमा आएकाले सम्बन्धित निकायसँग छलफल गरेर त्यसको विस्तृत विवरण सभामुख घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष दाहाललगायतका पदाधिकारीहरुलाई उपलब्ध गराउने र त्यसलाई समयमै अझ राम्रो ढंगले काम गराउन लागिपर्ने बताए ।
उनले राष्ट्रिय प्राथमिकतामा रहेको सो भवन निर्माणका कार्यमा ढलाई नगरी काम गर्न पनि मातहतका निकायलाई निर्देशन दिए ।
उपप्रधानमन्त्री सिंहले सो भवन निर्माणका लागि कुनै समस्या भए हटाएर अघि बढ्न पनि आफूले पहल गर्ने बताए ।
उनले भने– ‘विभिन्न कारणवश यो ढिलाई हुन गएको छ । यहाँ सम्माननीय सभामुख, अध्यक्षज्युको इन्ट्रेष्ट के हो भने यो ढिलाई किन भयो, अथवा कन्ट्रोभर्सी केही छ कि ? यसमा अझ राम्रो गर्न सकिन्छ कि ? भन्ने कुरा हो उहाँहरुको । यो २०७६ सालमा नै ओके गरेर यो अगाडि बढेको हो । अब त्यो कामलाई प्र्रोग्रेस गर्दाखेरी यसमा चाहीँ अनावश्यक रुपमा ढिलासुस्ती भएको भए त्यसमा चाँही सबै एलर्ट भएर यसमा चेक गरेर प्रोग्रेस अगाडि बढाउनु प¥यो । हाम्रो के छ भने ठेक्कामा दिन्छौं । यसमा ठेकदारले ढिला गर्ने अनि मुद्दामा जाने । अनि यो प्रोजेक्ट त झनझन ढिला हुँदै जाने त्यो ट्रन्ट देखा परिराखेको छ । यो त नेपालको परिवेशमा हामीले सोच्नुप¥यो । के गरेर अव यसलाई टाइमली गर्नका लागि के गर्दा हुन्छ ? त्यो अव टेक्नेसिएनहरुसहित इन्भल्भ भएकाहरुले हामीलाई जानकारी गरायो भने हामीले हटाउनुपर्ने अवरोधहरु भए हटाएर अघि बढाउँछौं भन्ने कुरा राख्न चाहन्छु । र म सम्माननीय सभामुखज्यु, अध्यक्षज्युलगायतका सबैलाई तपाईहरुले यत्रो चासो दिएर हेरिराखेको यो प्रोजेक्ट हो । यो राष्ट्रिय प्राथमिकताको योजना पनि हो । म यो मन्त्रालयमा आएको छु । यसमा तपाईहरुसँग टचमा भएर यसको जानकारी गराएर टाईमली यसमा सकेसम्म यसमा अझ प्रगति राम्रो गर्नका लागि प्रयास गर्नेछु ।’
त्यस अवसरमा उपप्रधानमन्त्री सिंहले सो भवन समयमै सम्पन्न गर्नका लागि चासो व्यक्त गर्नुभएको भन्दै सभामुख घिमिरे, राष्ट्रिय सभा अध्यक्ष दाहाललगायतप्रति आभार व्यक्त गरेका थिए ।








