स्तनपान गराउन कामकाजी महिलालाई समस्या

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका पहलमानपुरकी पवित्रा विष्टले छोरा र छोरीतर्फका १६ नातिनातिना हुर्काइन् । खेतीपाती गर्ने उनीको परिवारमा सुत्केरीलाई तीन महिना आराम गर्न मिल्छ । तीन महिनापछि खेतबारी जानुपर्छ । सुत्केरी खेतबारीमा गएपछि विष्टले सबै नातिनातिनालाई गाईभैँसीको दूध खुवाइन् ।

‘हामी खेतीपाती गर्ने परिवारका व्यक्ति, सुत्केरीलाई तीन महिना आराम गर्न पाइन्छ’, उनीले भनिन्, ‘त्यसपछि खेतीपाती र घाँस दाउरा गर्न जानुपर्छ । त्यो समयमा शिशुलाई गाईभैँसीको दूध खुवाउने गरेका छौँ ।’

यस्ता विभिन्न कारणले कैलालीका कतिपय आमाहरूले शिशुलाई पूर्ण स्तनपान गराउन पाउँदैनन् । कतिपय आमा भने स्तनपानको महत्त्व नै बुझ्दैनन् । नियमित रूपमा ६ महिनासम्म स्तनपान गराउन सकेमा शिशुको स्वास्थ्य राम्रो हुनुका साथै कुपोषण हुनबाट जोगाउन सकिन्छ । स्तनपान आमाहरूले चाहेर मात्र गराउन सम्भव छैन । कामकाजी आमालाई चाहेर पनि शिशुलाई नियमित स्तनपान गराउन समस्या छ ।

टीकापुरको एकता नगरकी गीता अधिकारी खत्रीका तीन सन्तान छन् । कम उमेरमै सन्तान जन्माएकी गीताले दुई छोरीलाई पूर्ण स्तनपान गराइनन् । छोरा जन्मिदा स्वास्थ्यकर्मीले स्तनपानको महत्वबारे सिकाएपछि भने राम्ररी स्याहारिरहेको उनी बताउँछिन् । ‘दुई छोरीलाई समय मिलाएर दूध चुसाउन पाइनँ, आफूले पनि जानेको थिइन, घरायसी कामले पनि फुर्सद भएन’, उनीले भनिन्, ‘तेस्रो सन्तान पाउँदा स्वास्थ्यकर्मीले स्तनपानको महत्वबारे सिकाइन् । त्यसपछि विशेष ध्यान दिएर हुर्काइरहेकी छु ।’

शिशु जन्मेको एक घण्टाभित्र आमाको दूध चुसाउनुपर्छ । स्तनपान प्रत्येक नवजात शिशुको नैसर्गिक अधिकार हो । शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराइसक्नुपर्ने हुन्छ । शिशुको स्वास्थ्य र पोषणका लागि ६ महिनासम्म अनिवार्य रूपमा आमाको मात्र दूध खुवाउनुपर्छ ।

स्वास्थ्यकर्मीका अनुसार ६ महिनामुनिका शिशुलाई आवश्यक पर्ने सम्पूर्ण पोषण आमाको दूधबाट प्राप्त हुने हुँदा उसलाई पानीसमेत खुवाउनुपर्दैन । शिशुलाई ६ महिना कटेपछि मात्र सर्वोत्तम पिठो, लिटो, जाउलो जस्ता अतिरिक्त खाना खुवाउँदै, दुई वर्ष नपुगुन्जेलसम्म स्तनपनलाई निरन्तरता दिनुपर्छ । तर हाम्रो समाजमा यी अभ्यास थोरैले गर्छन् ।

टिकापुर नगरपालिकाका कर्मचारी विन्द्रा उपाध्यायले दोस्रो शिशु हुर्काइरहनु भएको छ । सुत्केरी हुँदा उनीले ९८ दिन सुत्केरी बिदा पाइन् । कार्यालयमै स्तनपान कक्ष छ तर पनि उनीले शिशुलाई चाहेजस्तै स्तनपान गराउन पाइनन् ।

‘हामीलाई सुत्केरी बिदापछि कार्यालयमा फर्कदा पनि दुई/दुई घण्टामा स्तनपानको व्यवस्था छ, तर कार्यान्वयन गर्न गाह्रो छ’, उपाध्यायले भनिन्, ‘सेवाग्राही धेरै हुन्छन्, चाहेर पनि शिशुलाई स्तनपान गराउन सकिँदैन, कार्यकक्ष छोडेर गएमा गुनासो सम्बोधन गर्न गाह्रो हुन्छ । त्यसैले शिशुलाई पूर्ण स्तनपान गराउन सकिएन ।’

कैलालीकै सुभद्रा विकको पाँच महिनाकी छोरी छिन् । घरमा गाईभैँसी पालेकाले सुभद्रालाई शिशु छोडेर घाँस काट्न जानुपर्छ । ‘कहिलेकाहीँ घाँस काटेर घर फर्कदा घण्टौँ बितिसक्छ, शिशु भोकाएर तड्पिन्छ’, उनीले भनिन्, ‘त्यसैले पाँच महिनामै पास्नी गरिहाल्यौँ, अहिले सासूआमाले बाहिरी खानेकुरा खुवाएर भुलाउनुहुन्छ ।’

आमाको दूध शिशुका लागि सबैभन्दा पोषिलो आहार हो । स्तनपान गराउँदा आमा र शिशु दुवैको स्वास्थ्यमा फाइदा पुर्‍याउँछ । स्तनपान गराउने आमाहरूमा स्तन क्यान्सर र पाठेघरको क्यान्सरको खतरासमेत कम हुने चिकित्सक बताउँछन् ।

स्तनपानले आमा र शिशुको आत्मियतालाई प्रगाढ बनाउन सहयोग पुर्‍याउने भएकाले समय र काम व्यवस्थापन गरेर भए पनि शिशुलाई अनिवार्य स्तनपान गराउनुपर्ने टिकापुर नगरपालिकाका सिनियर अनमी हिमा ज्ञवाली बताउँछिन् ।

‘आमाको दूधमा शिशुको शारीरिक, मानसिक र बौद्धिक विकासका लागि आवश्यक सम्पूर्ण तत्त्व पाइन्छ’, उनीले भनिन्, ‘स्तानपान वृद्धिदर बढाउन सरकारले मात्र काम गरेर पुग्दैन । परिवार, हरेक कार्यालय र समुदायले समेत सहज वातावरण बनाउनुपर्छ । कामकाजी आमाका लागि पनि कार्यस्थल सहज बनाउन आवश्यक छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =