यू-१९ विश्वकप : भारत र बंगलादेश दुवैलाई हराए नेपाल सेमिफाइनलमा पुग्छ ?

काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप २०२४ को सुपर सिक्समा बुधबार नेपालले बंगलादेशसँग खेल्ने भएको छ । दक्षिण अफ्रिकामा जारी विश्वकपका समूहचरणका सबै खेल आइतबार सकिएसँगैं दोस्रो चरणको खेल तालिका सार्वजनिक भएको हो ।
आगामी शुक्रबार नेपाल र भारत भिड्ने छन् । बंगलादेश र भारतसँगका खेल ब्लोमफोन्टेनमा हुनेछ । नेपाली टोली आइतबार इस्ट लन्डनबाट ब्लोमफोन्टन गएको छ । नेपाल शुक्रबार अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै सुपर सिक्समा पुगेको हो ।
पाकिस्तान र न्युजिल्यान्डपछि समूह ‘डी’ को तेस्रो टोलीको रुपमा नेपालले दोस्रो चरणमा स्थान बनाएको हो । समूह ‘डी’ को तेस्रो हुने टोलीले समूह ‘ए’ को पहिलो र दोस्रो स्थानसँग खेल्ने प्रावधान अनुरुप नेपालले भारत र बंगलादेशसँग खेल्न लागेको हो ।
सेमिफाइनल सम्भावना कति ?
आईसीसी यू-१९ विश्वकप २०२४ को सुपर सिक्स खेल्ने सबै १२ टोलीको टुङ्गो लागेको छ । सुपर सिक्सको एउटा समूहमा भारत, बंगलादेश, न्युजिल्यान्ड, पाकिस्तान, नेपाल र आयरल्यान्ड रहँदा अर्को समूहमा अस्ट्रेलिया, श्रीलंका, वेस्टइन्डिज, दक्षिण अफ्रिका, इंग्ल्यान्ड र जिम्बावे छन् । दुबै समूहका शीर्ष २-२ टोलीबीच सेमिफाइनल खेल हुनेछ ।
समूह चरणमा आफूले हराएको टोली सुपर सिक्समा पुगेको खेलको मात्रै अंक गणना हुन्छ । तर नेपालले हराएको अफगानिस्तान समूह चरणबाटै बाहिरिएको थियो । पाकिस्तान र भारत दुवै समूह डी र ए का विजेता बन्दै सुपर सिक्समा ४-४ अंकका साथ आएका छन् । न्युजिल्यान्ड र बंगलादेश २-२ अंकका साथ आएका छन् । नेपाल र आयरल्यान्ड भने अंक विहीन हुँदै आएका छन् । त्यसैको कारण सुपर सिक्समा नेपालको अंक नहुँदा सेमिफाइनल सम्भावना कठिन बनेको हो ।
अब नेपालले ‘सुपर सिक्स’ मा बंगलादेश र भारतलाई हराए पनि सेमिफाइनल पुग्नका लागि अंक पर्याप्त नहुन सक्छ । यदि पाकिस्तान र भारतले एक-एक खेल जितेको खण्डमा पनि ६-६ अंकमा पुग्नेछन् । अर्कोतर्फ नेपालले दुवै खेल जितेपनि ४ अंकमा मात्रै पुग्न सक्छ । भारत र पाकिस्तानले दुवै खेल हारेको खण्डमा उता न्युजिल्यान्ड र बंगलादेशको नतिजा पनि हेर्नुपर्छ । त्यसैले गर्दा दुवै खेल जितेपनि नेपाल सेमिफाइनलमा सीधै पुग्न सक्दैन । अन्य टोलीको नतिजा र नेटरनरेटमा भरपर्नुपर्छ । जसले गर्दा नेपालको सेमिफाइनल यात्रा कठिन देखिन्छ ।
अंक तालिका









