यू-१९ विश्वकपमा अफगानिस्तानको सामना गर्दै नेपाल, सुपर सिक्समा पुग्न जित्नैपर्ने दबाब

काठमाडौँ । जारी आइसीसी यू- १९ विश्वकप अन्तर्गत आज नेपालले समूह चरणको अन्तिम खेलमा अफगानिस्तानको सामना गर्दै छ । समूह डी मा रहेको नेपालको यो खेल नेपाली समय अनुसार अपराह्न १: ४५ बजेदेखि सुरु हुँदै छ ।

नेपालले आफ्नो पहिलो खेलमा न्यूजील्याण्डसँग ६४ रनको हार बेहोरेको थियो भने दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटको हार बेहोरेको थियो ।  अहिलेसम्म समूह डी मा न्यूजील्याण्ड र पाकिस्तानले लगातार दोस्रो जित हासिल गर्दै सुपर सिक्समा आफ्नो स्थान सुरक्षित गरेका छन् ।

अब आजको नेपाल र अफगानिस्तान दुवैले आफ्ना २-२ खेलमा हार बेहोरेका हुनाले यस खेलको विजेता समूह डी बाट सुपर सिक्समा पुग्ने तेस्रो टिम हुने छ । त्यसैले पनि दुवै देशका लागि यो खेल जित्नै पर्ने दबाब रहेको छ ।

विश्वकप खेल्ने नेपाली टिम:- देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक प्रसाद डुम्रे,दुर्गेश गुप्ता,गुलशन कुमार झा,  दिपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी,  दीपक बोहरा ए, दीपक बोहरा बी, उत्तम थापा मगर, विपिन रावल,  तिलकराज भण्डारी र आकाश चन्द ।

दक्षिण अफ्रिकामा हुने यस विश्वकपमा नेपालसहित १६ देशले भाग लिएका छन् । यस विश्वकपमा १६ देशलाई चार समूहमा विभाजन गरिएको छ । समूह चरणमा एक अर्कासँग खेलेपछि हरेक समूहबाट शीर्ष तीन टिम अर्को चरणमा प्रवेश गर्ने छन् । अर्को चरणमा पुग्ने १२ देशलाई दुई समूहमा विभाजन गरेर सुपर सिक्सका खेल खेल्ने छन् ।  सुपर सिक्समा एक टिमले केवल दुई खेल खेल्ने छ । अन्त्यमा दुवै समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् ।

यस विश्वकपको समूह ए मा अमेरिका, बंगलादेश, भारत र आयरल्याण्ड छन् भने समूह बी मा स्कटल्याण्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र इङल्याण्ड रहेका छन् । समूह सी मा जिम्बाबे, नामिबिया, अस्ट्रेलिया र श्रीलंका रहेका छन् भने समूह डी मा पाकिस्तान, अफगानिस्तान, न्यूजील्याण्ड र नेपाल रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 5 =