यू १९ विश्वकप : नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित

आईसीसी यू १९ विश्वकप क्रिकेटमा नेपाल पाकिस्तानसँग ५ विकटले पराजित भएको छ। नेपालले दिएको १९८ रनको लक्ष्य पाकिस्तानले ५ विकेटको क्षतिमा पूरा गरेको हो।
पाकिस्तानको जितमा अजान अविसले अर्धसतकीय इनिङ खेले। नेपालका आकाश चन्दले तीन विकेट लिए पनि अन्य बलर चल्न नसक्दा लगातार दोस्रो हार व्यहोर्न बाध्य भयो।
पाकिस्तानको जितमा दुवै ओपनरले समान ३७ रन बनाउँदै दर्बिलो आधार खडा गरिदिए। श्यामल हुसेन र शहजिव खान २२ औं ओभरमा आकाश चन्दको बलमा आउट भएका थिए। अर्फाद मिनास चन्दकै बलमा ८ रनमा आउट हुँदा कप्तान साद बाइगलाई शून्य रनमै आकाश त्रिपाठीले क्याचआउट गराए।
अहमद हसन २९ रनको योगदान दिँदै दिपेश कंडेलको बलमा आउट भए। अजन अवीस ६३ रनमा र हारुन अर्सद १५ रनमा नटआउट रहे।
त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १९७ रन जोड्यो ।
नेपालका लागि ओपनर विपिन रावलले सर्वाधिक ३९ रन बनाए ।
उनले ६८ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए । तल्लोक्रममा दीपक डुम्रेले ५८ बलमा १ छक्कासहित २६ रनको योगदान दिए । सुभाष भण्डारीले २४ बलमा २० रन जोडे । आकाश चन्द ११ बलमा १ चौका र १ छक्कासहित १६ रनमा नटआउट रहे ।
अघिल्लो खेलमा न्युजिल्यान्डविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका अर्जुन पाँचौ ओभरको दोस्रो बलमा आउट भए । अहमद हुसेनको बलमा बोल्ड हुनुअघि अर्जुनले १२ बलको सामना गर्दै ६ रन जोडे ।
आकाश त्रिपाठी १० बलमा ६ रन जोड्दै सातौं ओभरमा क्याच आउट भए । त्यसपछि देव र विपिनले इनिङ सम्हाल्ने प्रयास गरेपनि देव खराब सट खेल्दै आउट भए । उनले ३७ बलमा ३ चौकासहित २३ रन जोडे । लगत्तै उत्तम मगर पनि ४ रनमा आउट भए । त्यसपछि भने नेपालले बाउन्ड्री जोड्न सकेन ।
२७ औं ओभरमा विपिन रावल आउट हुँदा नेपाल ९६–५ को स्थितिमा पुग्यो । गुलशन झा ४७ बल खेल्दै विना कुनै बाउन्ड्री १८ रन जोड्दै आउट भए । अराफात मिन्हासबाट बोल्ड हुनुअघि दिपेश कँडेलले १७ बलमा २ चौकासहित १३ रनको योगदान दिए । सुभाष भण्डारी अन्तिम ओभरको पाँचौ बल र दुर्गेश गुप्ता अन्तिम बलमा उबेद शाहको बलमा उनैबाट क्याच आउट भए ।
पाकिस्तानका लागि मिन्हासले १० ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । अर्का स्पिनर अलि अस्फन्दले १० ओभरमा १ विकेट लिँदा १५ रनमात्र खर्चिए । उबेद शाह र अहमद हुसेनले २–२ तथा खुबेब खलिल र मोहमद जिशानले १–१ विकेट लिए ।








