पिएम कप : एपिएफ र कर्णालीको विजयी सुरुवात

काठमाडौँ । सशस्त्र प्रहरी बलको एपिएफ क्लब र कर्णाली प्रदेशले आईतवार प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा जित निकालेका छन् ।

कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सन्दीप जोराको शतकमा एपिएफले बागमती प्रदेशलाई ८९ रनले हराउँदा कर्णालीले भैरहवामा गण्डकी प्रदेशमाथि सात विकेटको जित निकाल्यो ।

एपिएफ र कर्णालीले पहिलो खेलमा जित निकाल्दै जारी प्रतियोगितामा सुखद् सुरुवात गरे । बागमती र गण्डकीको भने दोस्रो हार हो । एपिएफलाई दोस्रो जित दिलाउन सन्दीपले एक सय १२ रनको शतकीय इनिङ खेले । उनकै ब्याटिङ प्रेरणामा एपिएफले दिएको दुई सय ४२ रनको लक्ष्य पछ्याएको बागमती ४२।५ ओभरमा एक सय ५२ रनमै समेटियो ।

एपिएफको उत्कृष्ट बलिङसामु बागमतीले पूरै ओभर खेल्न नै सकेन । खराब सुरुवात गरेको बागमतीका कप्तान रित गौतमले ६० रन र ओपनर आशुतोष घिरैयाले ४१ रनको योगदान दिए । रितले ८९ बलमा आठ चौका प्रहार गरे । लगातार दोस्रो दिन राम्रो ब्याटिङ गरेका आशुतोषले ५७ बलमा पाँच चौका हिर्काए ।

विवेक गौतम १५ रनमा आउट हुँदा रविन जोशी २० रनमा नटआउट रहे पनि बागमतीको फराकिलो हार टार्न सकेनन् । एपिएफका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक चार विकेट लिए । उनले ९ ओभरमा एक मेडन राख्दै २६ रन मात्र दिए ।

मौसम ढकाल र अविनाश बोहराले समान दुई तथा पुरन विक र भुवन कार्कीको नाममा समान एक विकेट रह्यो । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपिएफले खराब सुरुवातको बाबजुद निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा दुई सय ४१ रन जोड्यो । एक समय खातामा ४१ रन जोड्दा एपिएफका पाँच विकेट पतन भइसकेको थियो । तर, मध्य क्रमका ब्याटर सन्दीपले अर्को छेउबाट इनिङ सम्हाल्दै एपिएफलाई राम्रो योगफलतर्फ डोर्याए । ११७ बल खेलेका सन्दीप एक सय १२ रनमा अन्तिम ओभरमा रनआउट हुन पुगे ।

उनको इनिङमा सात चौका र पाँच छक्का रह्यो । कप्तान रोहितसहित एपिएफका शीर्ष क्रमका ब्याटर सस्तैमा पवेलियन फर्किए । ओपनरद्वय प्रज्वल शाही १० रन र आसिफ सेख १५ रनमा आउट हुँदा रोहित पनि दुई रनमै पवेलियन फर्किए । तर तल्लो क्रमका लोकेश बलमे २७ रन, अमर रौटेलाले २२ रन र अविनाश बोहोरा १७ रनमा नटआउट रहँदै एपिएफको मध्यम योगफल बनाउन मद्दत गरे ।

बागमतीको बलिङमा सूर्य तामाङले तीन विकेट तथा प्रतिस जिसी र रिजन ढकालले समान दुई विकेट लिए । सोनु देवकोटाको नाममा एक विकेट रह्यो ।

सोमवार नै भैरहवाको सिद्धार्थ क्रिकेट रङ्गशालामा कर्णालीले पनि गण्डकीलाई सात विकेटले स्तब्ध बनाउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको छ । ४५ ओभरमा छोट्याएको खेलमा गण्डकीले दिएको एक सय २३ रनको लक्ष्य कर्णालीले ३३.२ ओभरमा मात्र तीन विकेट गुमाउँदै पूरा ग¥यो ।

हिमान्शु शाहीले ५३ रनको अर्धशतकीय योगदान दिँदै कर्णाली सहज जित दिलाए । ७१ बलमा उनले पाँच चौका र दुई छक्का प्रहार गरे । कप्तान तथा ओपनर रवीन्द्र शाही २० रनमा आउट हुँदा निश्चल रावल २९ रनमा र अर्जुन घर्ती १० रनमा अविजित रहे ।

कर्णालीले पहिलो दुई विकेट सस्तैमा गुमायो । तर, तेस्रो विकेटका लागि हिमान्शु र निश्चलले ८० रनको साझेदारी गर्दै जितको आधार तय गरे । गण्डकीको बलिङमा लागि अङ्कित न्यौपानेले दुई र विपिन खत्रीले एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा एक सय २२ रनको योगफल बनायो । गण्डकीका शीर्ष पाँच ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । अमृत गुरुङ र कमल परियाले समान २१ रन, अश्विन रानाले १६, चन्द्र पौडेलले अविजित १४ र कप्तान विपिन खत्रीले १० रन जोड्दै गण्डकीको सय रनको आँकडा पार गराए ।

गण्डकीले अतिरिक्त २६ रन पनि पायो । कर्णालीको बलिङमा अनुज चुनरा, दीनेश अधिकारी र दीपेन्द्र रावले समान दुई तथा प्रकाश जैसी, दिवान पुन र रवीन्द्र शाहीले समान एक विकेट लिए । कुल १० टोलीले प्रतिस्पर्धामा गरेको प्रतियोगिता राउण्ड रोविनको आधारमा भइरहेको छ । शीर्ष दुई टोलीले फाइनल खेल्दा चौथो स्थान सम्मका टोलीले भने इलिट ट्रफी खेल्न पाउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 4 =