जेलमा बम्जनको दिनचर्या– जोगीहरुसंगै खाना खान्छन्, कोठामै ध्यान गर्छन्

काठमाडौं । बाल यौन शोषणको अभियोग लागेका रामबहादुर बम्जनले अहिले महोत्तरीस्थित जलेश्वर कारागारमा छन् ।

सर्लाहीको पत्थरकोट आश्रममा रहँदा एक किशोरीमाथि यौन सन्तुष्टि प्राप्त गर्ने गतिविधि तथा बाल यौन शोषण गरेको अभियोगमा बम्जन बिहीबार जिल्ला अदालत सर्लाहीबाट पुर्पक्षका लागि जलेश्वर कारागार चलान भएका हुन् । बम्जनले कारागारभित्रै योग ध्यान गर्छन् ।

उनले आफू सुत्ने कोठामै योग ध्यान गर्न थालेका जलेश्वर कारागारका प्रमुख (जेलर) रामचन्द्र साहले जानकारी दिए ।

‘उनले साँझ बिहान आफू सुत्ने ओछ्यानमा योग ध्यान गर्न थालेका छन्,’ जेलर साहले भने, ‘उनी शान्त देखिन्छन् । अन्य कैदीबन्दीसँग घुलमिल हुँदै गएका छन् । अरु कैदीसँग पनि गफगाफ गरिरहेका हुन्छन् ।’अन्य कैदीबन्दीलाई पकाएको मेसको खाना खान अस्वीकार गरेका बम्जनलाई कारागारमा रहेका बाबा (जोगी)हरुसँगै शाकाहारी खाना खाने व्यवस्था मिलाइएको छ । ‘उनले लसुन, प्याज र बेसार नहालेको खाना मागेपछि हामीले अन्य कैदीबन्दीलाई बनाएको खाना दिएका छैनौँ,’ जेलर साहले भने, ‘उनलाई बिहानको खाना आफन्तले नै ल्याइदिन्छन्, साँझको खाना जोगीहरूको मेसमा खान्छन् ।’ जलेश्वर कारागारमा विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका ५/७ जना जोगी छन् । बम्जनलाई पनि उनीहरूकै मेसमा शाकाहारी खाना खाने व्यवस्था मिलाइएको हो । ‘म हिजो शनिबार रामबहादुर भएको ठाउँमा गएको थिएँ । तिमीलाई कस्तो छ भनेर सोध्दा मलाई ठिक छ, अब यतै ‘एडजस्ट’ हुन्छु । कोठामै योग ध्यान गर्छु । त्यसको आफ्नै टाइम टेबल छ । भन्ने कुरा गरे,’ जेलर साहले भने ।

बम्जनलाई सुत्ने ओछ्यान छुट्टै दिए पनि छुट्टै कोठामा नराखिएको उनले बताए । अन्य कैदीबन्दीसँगै एउटै कोठामा उनलाई राखिएको साहले जानकारी दिए । जलेश्वर कारागारमा छ सय भन्दा धेरै कैदी बन्दीलाई राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =