विश्वकप छनोटमा सानदार सुरुवात गरेको नेपाल आज मलेसियाको सामना गर्दै

काठमाडौँ । जारी टी-२० विश्वकप छनौट अन्तर्गत आज नेपालले मलेसियाको सामना गर्दैछ । यो खेल टियु क्रिकेट मैदानमा अपराह्न १: १५ बजेदेखि सुरु हुनेछ ।

सोमबारदेखि सुरु भएको विश्वकप छनौटमा नेपालले आफ्नो पहिलाे खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेर शानदार सुरुवात गरेको छ । त्यस्तै मलेसिया भने आफ्नो पहिलो खेलमा ओमानसँग पराजित भएको छ । सोमबार खेलेको खेलमा मलेसिया ओमानसँग ३२ रनले पराजित भएको थियो ।

त्यसैगरी आज समूह ए का ओमान र सिंगापुर टियु मैदानमा बिहान ९ बजेदेखि खेल्दै छन् भने समूह बि का बहराइन र हङकङ मुलपानी क्रिकेट मैदानमा बिहान ९ बजेदेखि खेल्दैछन् । त्यस्तै समूह बि का कुवेत र युएई अपराह्न १: १५ बजेदेखि मुलपानी क्रिकेट मैदानमा खेल्दै छन् ।

आगामी अक्टोबर ३० देखि नोभेम्बर ६ सम्म अर्थात् कार्तिक १३ गतेदेखि २० गतेसम्म काठमाडौँमा हुने प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया रहेका छन् भने समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत रहेका छन् ।

नेपालले पहिलो खेल कार्तिक १३ गते सोमबार सिंगापुरसँग खेल्ने छ भने दोस्रो खेल कार्तिक १४ गते मलेसियासँग र तेस्रो खेल कार्तिक १६ गते ओमानसँग खेल्ने भएको छ ।

नेपालमा हुने विश्वकप छनोटका फाइनलमा पुग्ने दुई देश आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकपमा छनौट हुने छन् । नेपाल यसअघि पहिलो पटक २०१४ को टी- २० विश्वकप खेलेको थियो । यस अघि टी-२० विश्वकपमा १६ देश खेल्दै आएकोमा २०२४ को विश्वकपमा २० देशले सहभागिता जनाउँदै छन् ।

एसिया क्षेत्रको टी-२० विश्वकप खेल्ने नेपाली टीममा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आसिफ सेख (विकेटकिपर), विनोद भण्डारी (विकेट किपर), कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अविनाश बोहोरा, प्रतिश जिसी, विवेक यादव, सन्दीप लामिछाने र  ललित राजवंशी रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =