नेपालले पायो १४१ रनको लक्ष्य

काठमाडौँ । काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) बाट जितका लागि एक सय ४१ रनको लक्ष्य पाएको छ ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ४० रन बनायो । खेलको प्रारम्भमै चार विकेट गुमाएको यूएईले त्यसपछि भने आक्रमक ब्याटिङ गरेको थियो ।
यूएईका लागि पाँचौँ र छैठौँ नम्बरका ब्याट्सम्यानले ५६ रनको साझेदारी गरे । यूएईका लागि पाँचौँ नम्बरका ब्याट्सम्यान अली नासिरले ३२ रनको योगदान गरे । छैठौँ नम्बरका क्रिज समाल्न आएका बासिल हमिदले अर्धसत बनाए ।
उनले आक्रामक पाली खेल्दै केवल ३८ बलको सामना गरी चार छक्का र एक चौकाको मद्दतले ५१ रन बनाए । नेपालका करण केसीले ४ ओभरमा १९ रन खर्चेर सर्वाधिक ३ विकेट लिए। गुलशन झाले ३ ओभरमा ११ रन खर्चेर २ विकेट लिए ।
सोमपाल कामीले ३ ओभरमा २१ रन खर्चेर १ विकेट लिए ।
अभिनाश बोहराले ४ ओभरमा ३८ रन खर्चेर १ विकेट लिए । नेपालका स्पिनर भने विकेटविहीन बने ।
मौसम ढकालले डेब्यू खेलमा २ ओभरमा १४ रन खर्चिए । दीपेन्द्रले २ ओभरमा १९ रन खर्चिए । कुशल मल्लले २ ओभरमा १३ रन दिए ।








