रोहितको कीर्तिमानी शतक, भारतको सानदार जित

कप्तान रोहित शर्माको विश्व कीर्तिमानी शतकमा भारतले आइसिसी विश्वकप २०२३ मा अफगानिस्तानमाथि ८ विकेटको सानदार जित हात पारेको छ ।

जितको लागि २ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको भारतले ३५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा कप्तान रोहित शर्माले ८४ बलमा १६ चौका र ५ छक्कासहित सर्वाधिक १ सय ३१ रनको शतकीय इनिङ खेले । उनको विश्वकपको सातौं शतक हो । यसअघि २०१५ को विश्वकपमा एक र २०१९ को विश्वकपमा पाँच शतक हानेका थिए ।

योसँगै रोहित विश्वकपमा सर्वाधिक शतक प्रहार गर्ने खेलाडी बनेका छन् । उनले पूर्व कप्तान सचिन तेन्दुलकरको ६, श्रीलंकाका पूर्वकप्तान कुमार संगाकारा र रिंकी पोन्टिङको ५,५ शतकको कीर्तिमान तोडेका हुन् ।

पहिलो विकेटका लागि ईशान किशन र रोहित शर्माले १८।४ ओभरमा १ सय ५६ रनको सानदार शतकीय साझेदारी गरेका थिए । ईशान ४७ बलमा ५ चौका र २ छक्कासहित ४७ रनमा आउट भए ।

भारतका विराट कोहली ५६ बलमा ६ चौकासहित ५५ रनमा नट आउट रहे । श्रेयस ऐर २३ बलमा १ चौका र १ छक्कासहित २५ रनमा नट आउट रहे । अफगानिस्तानका राशिद खानले ८ ओभरमा ५७ रन खर्चेर २ विकेट लिए । रोहित राशिद खानको बलमा बोल्ड भएका थिए । ईशान राशिदकै बलमा इब्राहिम जद्रानबाट क्याच आउट भएका थिए ।

त्यसअघि अरुण जेट्ली स्टेडियम दिल्लीमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७२ रन बनाएको थियो ।

भारतले पहिलो खेलमा अष्ट्रेलियालाई ६ विकेटले हराएको थियो । अफगानिस्तानले बंगलादेशसँग ६ विकेटले हारेको थियो। भारतले अव शनिबार नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा पाकिस्तानसँग खेल्नेछ। अफगानिस्तानले अव दिल्लीमा आइतबार इंग्ल्यान्डसँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − two =