देव खनालको कप्तानीमा नेपाली यू–१९ टोली घोषणा

काठमाडौँ । देव खनालको कप्तानीमा नेपालले मलेसियामा हुने एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटका लागि बुधबार १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ ।

यू–१९ प्रिमियर कप अक्टोबर १२ देखि २४ सम्म आयोजना हुनेछ ।

देवसहित घोषित नेपाली टोलीमा आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा ‘ए’, दीपक बोहरा ‘बी’, उत्तम थापामगर, दीपक डुम्रे, दीपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, सुवास भण्डारी, विशाल केसी, मिलन बोहरा रहेका छन् ।

त्यस्तै वैकल्पिकमा प्रज्वल थापा, विपिन रावल, निर्मल गुरुङ र राजेश यादव छन् । जगत टमाटाको प्रशिक्षणमा २४ सदस्यीय नेपाली टोलीले तीन साता अघि देखि प्रिमियर कपका लागि प्रशिक्षण गर्दै आएको छ ।

नेपालले फेब्रुअरीमा यूएईमा भएको आईसीसी यू–१९ विश्वकप छनोट जित्दै विश्वकपमा पुगेको थियो । सो टोलीका सबै १४ खेलाडीलाई मलेसियामा हुने प्रिमियर कप खेल्न जाने टोलीमा यथावत राखिएको छ ।

प्रिमियर कपमा १६ राष्ट्रले सहभागिता जनाउने छन् । नेपालसहित बहराइन, साउदी अरेबिया, इरान समूह ‘ए’ मा छन् । त्यस्तै समूह ‘बी’ मा यूएई, ओमान, कतार, चीन, समूह ‘सी’ मा सिंगापुर, कुवेत, थाइल्यान्ड, माल्दिभ्स तथा समूह ‘डी’ मा हङकङ, मलेसिया, जापान र इन्डोनेसिया छन् ।

प्रिमियर कपको शीर्ष ३ टोलीले नोभेम्बर–डिसेम्बरमा हुने यू–१९ एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसँग खेल्ने छ ।

नेपालले जनवरीमा श्रीलंकामा हुने आईसीसी यू १९ विश्वकपमा पनि खेल्ने छ । नेपालले आठौं पटक यू–१९ विश्वकपमा प्रतिस्पर्धा गर्न लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =