शुन्य समयमा बोल्ने सांसदहरुले के– के भने ?

काठमाडौं । प्रतिनिधि सभा सदस्य डोलप्रसाद अर्यालले सरकारले श्रमिकको बढेको पारिश्रमिक पाउने वातावरण बनाइदिनुपर्ने बताएका छन् ।

बिहीवार प्रतिनिधि सभा बैठकमा  बाल्दै प्रतिनिधि सभा सदस्य अर्यालले सरकारले श्रमिकहरुको पारिश्रमिक बढाउनु सकारात्मक भएको बताए ।

उनले उद्योगी, व्यवसायीले बढेको पारिश्रमिक लागू गर्न नसक्ने बताइरहेको भन्दै बढेको पारिश्रमिक लागू गर्न सरकारले वातावरण बनाइदिनुपर्ने बताए । उनले पारिश्रमिक वृद्धि लागू गर्न नसके राम्रो सन्देश नजाने बताए ।

उनले भने– ‘अहिले सामान्य बढेको पारिश्रमिक पनि लागू गर्न सकेनौँ भने पक्कैपनि राम्रो सन्देस जाँदैन । उद्योग, व्यवसाय प्रवद्र्धन गर्नु र श्रमिकका हक, हीतमा पनि काम गर्नु सरकारको दायित्व हो । त्यसैले उद्योगि, व्यवसायीले खुशी खुशी बढेको पारिश्रमिक लागू गर्ने वातावरण सरकारले तयार गरिदिनुपर्छ ।’

प्रतिनिधि सभा सदस्य तेजुलाल चौधरी ८ वर्ष अघि टिकापुरमा थारुहरुको आफ्नो हक, अधिकार, पहिचान र भुगोलका लागि राजनीतिक आन्दोलन भएको भएपनि थारुहरु जेल जिवन बिताउनुपरेको उल्लेख गर्दै उनीहरुलाई जेलमुक्त गर्न माग गरेका छन् ।

उनले थारुहरुमाथि राज्यले दमन र विभेद गरेको भन्दै थारुहरु पुनः जुर्मुराउनसक्ने बताए ।

उनले भने– ‘आज भाद्र ७ गते टिकापुर घटनाको ८ वर्ष भयो । अहिले धेरै थारुहरु जेल जीवन बिताइराखेको छ । केही थारुहरु देश बाहिर र देशमा लुकिछिपि बसिराखेको हुनाले उहाँहरुलाई छोड्दिन मैले जोडदार माग गर्न चाहन्छु । थारु आन्दोलन विशुद्ध राजनीतिक आन्दोलन हो । आफ्नो हक, अधिकार, पहिचान र भुगोलका लागि आन्दोलन भएको थियो । त्यसैकारणले थारुहरुलाई राज्यबाट दमन र विभेद भएको छ । यसको अन्तिम विकल्पको रुपमा थारुहरु फेरि जुर्मुराउन सक्छ । त्यसकारण म आग्रह गर्न चाहन्छु छिटोभन्दा छिटो थारुहरुलाई जेलमुक्त गरिदिनु ।’

प्रतिनिधि सभा सदस्य दीपा शर्माले चिकित्सा शिक्षा र प्राविधिक शिक्षामा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।

उनले सिटिइभिटी अन्र्तगतबाट सञ्चालित क्याम्पस सञ्चालकहरु आन्दोलित भइरहेको भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।
उनले भने – ‘शिक्षा क्षेत्र आज आन्दोलित छ । आज माईतीघर मण्डलामा १३ औँ दिन भयो चिकित्सा शिक्षा र प्राविधिक शिक्षा सिटिइभिटी अन्तर्गतबाट सञ्चालित क्याम्पसका सञ्चालकहरु त्यहाँ आन्दोलित छन् । सरकार बेखबर जस्तै बनेको छ । म आग्रह गर्न चाहान्छु, तुरुन्तै यो विषयमा छलफल चलाइ यसलाई टुंगोमा पु¥याउनका लागि चिकित्सा शिक्षा र सिटिइभिटीमा देखिएका समस्या समाधान गर्नुपर्छ ।’

प्रतिनिधि सभा सदस्य दुर्लभ थापा क्षेत्रीले भक्तपुरमा बालसुधार गृहमा कमल बस्नेतको निधन भएको घटनाको सत्यतथ्य बाहिर ल्याइ घटनामा संलग्नलाई कारबाही गर्न माग गरे । उनले मृतकका परिवारलाई क्षतिपूर्ति दिन पनि माग गरे ।

उनले भने– ‘भक्तपुरमा सञ्चालित न्युनतम बालबालिकाका लागि सञ्चालित संस्था युसेफमा भदौ ३ गते कमल बस्नेतको मृत्युको घटनालाई लिएर युसेफमा तोडफोड भएको छ । घटनाको सत्यतथ्य बाहिर ल्याइ सम्बन्धित निकायमार्फत उक्त घटनामा संलग्नलाई कारबाही र मृत्यु भएको बालकको क्षतिपूर्तिको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछु ।’

प्रतिनिधि सभा सदस्य देवप्रसाद तिमल्सिनाले रौतहटको श्रीराम सुगर मिल २ वर्षदेखि बन्द भएको भन्दै तत्काल सञ्चालन गर्न सरकारसँग माग गरे ।

प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंहले काठमाडौं उपत्यकाका २२ नदीहरुलाई व्यवस्थापन गर्न काठमाडौं उपत्यका नदी व्यवस्थापन गुरु योजना बनाएर काम अगाडी बढाउनुपर्ने बताए ।

उनले उपत्यकालाई हरियो तथा वातावरणमैत्री बनाउनका लागि सरकारको ध्यानाकर्षण गराए ।

उनले भने – ‘काठमाडौं उपत्यकामा डुबानदेखि लिएर पहिरो गइरहेको समाचार आएको छ । दीर्घकालिन रुपमा यसको समाधान खोज्नका लागि काठमाडौं उपत्यकामा साना, ठूला गरेर २२ वटा नदीहरुलाई व्यवस्थापन गर्नका लागि काठमाडौं उपत्यका नदी व्यवस्थापन गुरुयोजना बनाएर काठमाडौं उपत्यकालाई हरियो, वातावरणमैत्री बनाउनको लागि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले इन्जिनियरिङ अध्ययन संस्थानमा २०० प्रतिशत शुल्क वृद्धि गरेको भन्दै शुल्क वृद्धिको निर्णय फिर्ता लिन माग गरे । उनले शुल्क वृद्धि अस्वभाविक भएको बताए ।

उनले भने – ‘त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान आन्दोलित छ । त्यहाँ झन्डै २०० प्रतिशत शुल्क वृद्धि गरिएको छ । इन्जिनियरिङ शिक्षामा गुणस्तरीयता कायम गरेको र सामान्य जनताको पहुँच हुने स्थितिमा सञ्चालन हुँदै आएको इन्जिनियरिङ अध्ययन संस्थानमा जुन ढंगबाट शुल्क वृद्धि गरिएको छ । त्यो अस्वभाविक छ । तत्काल शुल्क वृद्धिको निर्णयलाई फिर्ता लिएर विद्यार्थीहरुको मागलाई पुरा गरियोस् । र त्रिभुवन विश्वविद्यालय भद्रगोल ढंगबाट चलिरहेको छ, त्यसलाई सुधार गर्नका निम्ति शिक्षा मन्त्रालयले स्वेतपत्र जारी गरोस् ।’

प्रतिनिधि सभा सदस्य पौडेलले त्रिभुवन विश्वविद्यालय भद्रगोल ढंगले चलिरहेको भन्दै यसलाई सुधार गर्नका लागि शिक्षा मन्त्रालयले स्वेतपत्र जारी गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 1 =