कहाँ-कहाँ छन् सडक/कोरिडोर अवरुद्ध ?

काठमाडाैँ । अविरल वर्षाका कारण खसेको पहिरोले देशका विभिन्न सडक अवरुद्ध भएको छ । मुख्य सडकसहित मार्ग र कोरिडोर अवरुद्ध हुँदा यात्रुहरूलाई समस्या भएको छ ।

काठमाडौंका करिडोरको बाटो अवरुद्ध
गएरातिदेखि परेको पानीका कारण खोला करिडोरलगायतका स्थानहरुको सडक आवागमन रोकिएको छ। काठमाडौं उपत्यका भित्रका सडक व्यवस्थापनमा अवरोध भएको भन्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ।

कार्यालयका अनुसार अविरल वर्षाको कारण कुपनडोल पुल मुनि, बल्खु पुल मुनि, सानेपा कालो पुल, कुलेश्वर-सानेपा, टंकेश्वर-परोपकार, ढल्कु पुल, भत्केको पुल, रातो पुल, सेतो पुल, कालो पुलको बाटोमा अवरोध पुगेको भन्दै वैकल्पिक बाटो प्रयोग गर्न भनेको छ।

यस्तै, गुहेश्वरी-गौरीघाट करिडोर, कपन, दक्षिणढोका ढलाने पुल, युएन पुल र खहरे खोला करिडोर लगायतका स्थानहरुमा पानीको बहाव बढेकोले ट्राफिक व्यवस्थापनमा अवरोध पुगेको कार्यालयले जनाएको छ।

कालिखोलाको पहिरो
नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका-६ स्थित कालिखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार आज बिहान लेदोसहितको पहिरो खसेसँगै सडक दुईतर्फी अवरुद्ध भएको छ । पहिरो पन्छाउन तयारी भइरहेको उनले जानकारी दिए । पहिरोका कारण सडक अवरुद्ध भएसँगै सो सडक भएर गुड्ने सवारीसाधन अलपत्र परेका छन् । यस सडक खण्डमा पटक-पटक पहिरो खस्दै आएको छ ।

हेटौंडा-काठमाडौंका दुई राजमार्गकाे सडक सम्पर्क टुट्याे
दुईदिनदेखि परेको निरन्तर वर्षाले हेटौंडाबाट काठमाडौं जाने दुई वटा राजमार्ग अवरुद्ध भएको छ । प्रहरी चौकी भैंसे,मकवानपकीका अनुसार गएराति ८ बजे पहिरो जाँदा मकवानपुर भिमफेदी गाउँपालिका २ ज्यालटारस्थित हेटौडा-भैसे-भिमफेदी-कुलेखानी-काठमाडौ सडकखण्ड अवरुद्ध भएको छ ।

यसैगरी मकवानपुर बकैया गाउँपालिका वडा ११ लामराङस्थित कान्ति लोकपथ सडक खण्डमा पनि गए राति पहिरोले बाटो अवरुद्ध भएको छ ।
दुवै स्थानको जोखिमपूर्ण पहिरो भएकोले सडक विभागसँगको समन्वयमा बिहानबाट मात्रै बाटोको अवरोध हटाउन प्रयास थालिने मकवानपुर जिल्लाका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए ।

उपत्यका भित्रिने सवारी पुलबजारमै रोकिए
गए रातिदेखि आएको भारी वर्षाका कारण बनेपा दुबानमा परेको छ । प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार बनेपाको पुलबजार क्षेत्र डुबानमा परेको हो ।

सोमबार रातिदेखिको अविरल वर्षाका कारण पुलबजार क्षेत्र डुबानमा परेको प्रहरीले बताएको छ । पुलबजारका सडक र घरहरुका सटर डुबेको प्रहरीले जनाएको छ । सडक डुबानमा परेकाले अरनिको राजमार्गमा यातायात सञ्‍चालनसमेत हुन नसकेको बताइएको छ । यो राजमार्ग हुँदै काठमाडौं उपत्यका आउने र उपत्यका बाहिर जाने धेरै सवारीसाधनहरु बाटोमा अलपत्र परेका छन् ।

बुटवल–पाल्पा सडकखण्ड
अविरल वर्षापछिको पहिरोले सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३,रामापिथेकस पार्क क्षेत्रमा माथिबाट पहिरो खसेपछि मंगलबार बिहानैदेखि राजमार्ग अवरुद्ध भएको हो ।

पहिरो झरेपछि पाल्पा हुँदै बुटवलतर्फ आउने र बुटवलबाट पाल्पा हुँदै विभिन्न जिल्ला जाने सवारी साधनहरूबीचमै रोकिएको दोभान प्रहरी चौकीले जनाएको छ । सिद्धबाबा सुरुङमार्ग निर्माणको ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले पहिरो झरेको स्थानमा सुरुङमार्गको उत्तरतर्फको सुरुङ प्रवेश विन्दुमा रिप पोर्टल निर्माण गरिरहेको छ । सो ठाउँमा साउनको पहिलो सातादेखि पटक-पटक पहिरो खस्दा सुरुङमार्गको निर्माणस्थलमा क्षति पुर्‍याएको छ ।

गोदावरीमा सडक भासियो
सोमबार बिहानैदेखि परेको अविरल वर्षाका कारण सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । गोदावरी नगरपालिका ४ भावर खण्डमा पहिरो गएका कारण सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) कुलदिप चन्दले ठूलो पहिरोसँगै सडक नै भासिएका कारण सवारी आवागमन अवरुद्ध भएको बताए । सडक सुचारु गर्नका लागि गोदावरीस्थित हेभि इक्युपमेन्ट डिभिजन कार्यालयसंग समन्वय भैरहेको डिएसपी चन्दले बताए । उनले अहिले त्यो बाटो भएर यात्र नगर्न अनुरोध समेत गरे ।

राहुघाट-तातोपानी सडकखण्ड
बेनी–जोमसोम सडकको राहुघाट–तातोपानी खण्डमा रातमा सवारी आवागमन बन्द गरिएको छ । यस खण्डको बैसरीलगायतका क्षेत्रमा पहिरो गई बारम्बार यातायात अवरुद्ध हुन थालेपछि रातको समयमा सवारी आवागमन बन्द गरिएको हो ।

सोमबार जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको अध्यक्षतामा बसेको सर्वपक्षीय समन्वय बैठकले ठाउँठाउँमा पहिराको कारण दैनिकजसो सडक आवागमन अवरुद्ध हुने गरेको र जनधनको समेत क्षति हुने जोखिम रहेकाले वर्षायामभरि रातिको समयमा यातायात आवागमन नगर्न अनुरोध गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिए ।

रघुगङ्गा गाउँपालिका–२ बैसरीको अँधेरीखोलामा निरन्तर पहिरो खस्न नरोकिएको र पहिरो खसेर सडक अवरुद्ध हँुदा धेरै सर्वसाधारण र यात्रु अलपत्र पर्ने समस्या आउन थालेपछि रातको समयमा सवारी आवागमनलाई रोक्ने निर्णय गरिएको उनले बताए । रातको समयमा अत्यावश्यक यात्रा गर्नुपरेमा सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिलाई खबर गरेरमात्रै आवातजावत गर्नसमेत आग्रह गरिएको छ ।

घोराही–लमही सडक
घोराही–लमही सडकखण्ड अवरुद्ध भएको छ । घोराही–लमही सडक खण्डअन्तर्गत लमही नगरपालिका–६ कुलमोहरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

वर्षात्का कारण गए राति खसेको पहिराका कारण सडक अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार पहिरो खसेको ठाउँमा पुुनः आज पनि पहिरो खस्दा सडक अवरुद्ध हुनपुगेको हो ।

सडक सञ्चालनका लागि पहिरो हटाउने काम भइइरहेको छ । सडक अवरुद्ध हुँदा घोराही–लमही सडकखण्ड भएर चल्ने छोटो तथा लामो दूरीका सवारीसाधन चल्न सकेका छैनन् ।

मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर
अबिरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । अबिरल वर्षाका कारण लोकमार्गको बागलुङ–बुर्तिबाङ सडकखण्डअन्तर्गत काठेखोला गाउँपालिका–६ इनारपानी र करिडोरको बागलुङ नगरपालिका–गलुवामा पहिरो झर्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

मध्यपहाडी लोकमार्गमा एकतर्फी सडक सञ्चालन गर्ने तयारी गरिएको उनको भनाइ छ । गलुवाको पहिरो हटाएर करिडोर सञ्चालन गर्न जेसिबी पठाए पनि त्यसले सडक खुलाउन नसकेको प्रहरी नायब उपरीक्षक केसीले बताए । उक्त सडक खुलाउन ठूलो डोजर नै पठाउनुपर्ने भएकाले पालिका केही समय लाग्ने जानकारी दिएको उनको भनाइ छ ।

करिडोर अवरुद्ध हुँदा जिल्ला सदरमुकामबाट दक्षिण बागलुङको जैमिनी, बलेवा, बरेङलगायतका क्षेत्र सीधा यातायात हुनसकेको छैन भने लोकमार्ग अवरुद्ध हुँदा बुर्तिबाङ, गलकोटबाट काठमाडौँ, पोखारा, चितवन, बागलुङलगायतका ठाउँमा जाने गाडी सडकमै रोकिएका छन् । बागलुङ बजारबाट पश्चितर्फ सञ्चालन हुने गाडी पनि सडकमै ठप्प भएका छन् भने यात्रु बीचबाटोमा अलपत्र परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 5 =