भारतले वेस्ट इण्डिजलाई हरायो

काठमाडौँ । भारतले वेस्ट इण्डिजविरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न सिरिजको पहिलो खेलमा भारत ५ विकेटले विजयी भएको हो ।
वेस्ट इण्डिजले दिएको ११५ रनको लक्ष्य भारतले २२.५ ओभरमा ५ विकेट गुमाउँदै पुरा गरेको थियो । भारतका लागि इशान किसनले सर्वाधिक ५२ रन बनाएका थिए भने सूर्यकुमार यादवले १९, रवीन्द्र जडेजाले १६ र कप्तान रोहित शर्माले १२ रन बनाएका थिए ।
त्यसैगरी वेस्ट इण्डिजका बलर गुडाकेस मोतीले २ विकेट लिए भने जयडेन सिलेस र यानिक कारियाहले एक एक विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इण्डिजले २३ ओभरमा अल आउट हुँदै ११४ रन बनाएको थियो ।
वेस्ट इण्डिजका लागि कप्तान शाइ होपले सर्वाधिक ४३ रन बनाए भने अलिक अथनाजले २२, ब्राण्डन किंगले १७ र शिमरोन हेटमायरले ११ रन बनाएका थिए । वेस्ट इण्डिजका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।
त्यस्तै वेस्ट इण्डिजलाई कम रनमा समेट्न भारतीय बलरले उत्कृष्ट बलिङ गरेका थिए । भारतका बलर कुलदीप यादवले सर्वाधिक ४ विकेट लिएका थिए । यादवले ३ ओभरमा २ मेडनसहित ६ रन दिएर ४ विकेट लिएका थिए । त्यस्तै रवीन्द्र जडेजाले ३ विकेट लिए भने हार्दिक पाण्डेय, श्रदुल ठाकुर र आफ्नो डेभ्यु खेल खेलेका मुकेश कुमारले एक एक विकेट लिएका थिए ।
यो जितपछि तीन खेलको सिरिजमा भारत १-० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल शनिबार हुँदै छ ।








