क्यानडामा दीपेन्द्र र सन्दीप आमनेसामने, दीपेन्द्रको टोली विजयी

ग्लोबल टी–२० क्यानडा लिगमा नेपालका दीपेन्द्र सिंह ऐरी आवद्ध क्लबले विजयी सुरुवात गरेको छ।
शनिबार बिहान क्यानडाको ब्रैम्प्टनमा सम्पन्न खेलमा मोन्ट्रियल टाइगरले स्पिनर सन्दीप लामिछाने आबद्ध सरे जगुआर्सलाई ५ विकेटले पराजित गरेको हो।
जगुआर्सले दिएको १ सय ३७ रनको लक्ष्य टाईगर्सले १८ दशमलब ३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
त्यसअघि पहिले ब्याटिङ गरेको जगुआर्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो ।
टाइगर्सका लागि बलिङमा मौका नपाएका दीपेन्द्रसिंह ऐरीले ब्याटिङमा २२ बलमा २८ रनको महत्वपुर्ण योगदान गरे । ऐरीले २ चौका प्रहार गरेका थिए ।
ऐरी सहित २ जनालाई आउट गरेका सन्दीपले ४ ओभरमा १७ रन खर्चिएर २ विकेट लिए । बंगलादेशका अलराउन्डर साकिब अल हसनलाई सन्दीपले आउट गराएका थिए।
सन्दीप आबद्ध जगुआर्समा लिन्टन दास, एलेक्स हेल्स, मोहम्मद हरिस, ईफ्तिखार अहमद लगायतका खेलाडी छन् ।
उता, दीपेन्द्र आबद्ध टाइगर्समा आन्द्रे रसेल, कार्लोस ब्रेथवेट, क्रिस लिन, सकिब अल हसन लगायतका खेलाडी रहेका छन् ।
दुवै टोलीको प्रतियोगितामा पहिलो खेल हो । दुवै टोलीमा नेपाली खेलाडीले मौका पनि पाए र दुवैले प्रदर्शन पनि राम्रो गरे।
प्रतियोगितामा ६ टोलीको सहभागीता रहेको छ । प्रतियोगिताको फाइनल खेल अगस्ट ६ मा हुनेछ ।








