नेपाल असार २९ गते पाकिस्तान र साउन १ गते भारतसँग भिड्ने

श्रीलंकामा हुने एसिसी इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा नेपालले पाकिस्तान र दोस्रो खेलमा भारतसँग भिड्ने भएको छ। समूह चरणमै नेपालले बलिया दुई टोलीको सामना गर्नु पर्ने भएको हो।

तर दुवै देशले पहिलो रोजाईका टोली भने खेलाउने छैनन्।

नेपाल रहेको समूह बी मा भारत र पाकिस्तानसँगै यूएई छन्। असार २८ गते ९१३ जुलाई० देखि प्रतियोगिता सुरु हुनेछ। दोस्रो दिन आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानको सामना गर्नेछ।

असार २९ गते पाकिस्तानको सामना गरेपछि नेपालले क्रिकेटको पावरहाउस भारतसँग भिड्ने तालिका छ। भारतको टिम एसँग नेपाली टोलीले साउन १ गते खेल्नेछ।

दुई बलिया टोलीसँगको खेलपछि नेपाल र यूएई साउन ३ गते आमनेसामने हुनेछन्। यदी चार टोली रहेको समूहबाट शीर्ष दुईमा पर्न सके नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ।

अर्को समूह ए मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र ओमान छन्। यो समूहबाट पनि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

सेमिफाइनलका खेल साउन ५ गते र फाइनल खेल साउन ६ गते हुनेछ।

नेपाली टोली शुक्रबार मात्रै विश्वकप छनोट खेलेर जिम्बावेबाट फर्किएको छ। जिम्बावेमा नेपालले जिम्बावे, वेष्ट इण्डिज, नेदरल्याण्ड र आयरल्याण्ड जस्ता टेष्ट राष्ट्रसँग प्रतिस्पर्धा गरेको थियो। तर यी चारै खेलमा नेपाल पराजित भयो। नेपालले विश्वकप छनोटमा अमेरिका र यूएईलाई पराजित गरेको थियो।

विश्वकप छनोट खेलेका नेपालका प्रमुख चार खेलाडी भने टोलीमा नहुने भएका छन्। पूर्व कप्तानसमेत रहेका सन्दीप लामिछाने, पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, करण केसी र दीपेन्द्रसिंह ऐरी एसियाकप खेल्ने नेपालको टोलीमा नहुने भएका छन्। शुक्रबार साँझ नेपाल क्रिकेट संघ क्यानले यी प्रमुख खेलाडीलाई बाहिर राख्दै टोली घोषणा गरेको हो।

नियमित कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीमा अर्जुन साउदले स्थान बनाउँदा देव खनाल पनि अटाएका छन्। श्याम ढकाल, सन्दीप जोरा र सूर्य तामाङ पनि १६ सदस्यीय टोलीमा परेका छन्।

विश्वकप छनोट खेलेका कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, प्रतिस जिसी, ललित राजवंशी र किशोर महतोले टोलीमा निरन्तरता पाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + nineteen =