नारायणगढ-मुग्लिन, बेनी-जोमसोम सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडक खण्ड पुन अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोला नजिक फेरि पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।

आज बिहान ११ः३५ बजे पुनःपहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । आज बिहान ३ः१५ बजे सोही स्थानमा पहिरो खसेर सडक बन्द भएको सडक सञ्चालन भएको केहीबेरमा पुनःपहिरो खसेर अवरुद्ध भएको हो ।

अहिले पहिरो पन्छाउने कार्य भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बिहीबार दिउँसो पनि सोही ठाउँमा पहिरो खसेर बन्द भएको सडक शुक्रबार बेलुकी ५ बजेदेखि खुलेको थियो । पहिरो झरेर सडक अवरुद्ध भइरहने हुनाले उक्त स्थानमा अपरेटरसहितको मेसिन तैनाथ रहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

यो सडक हुँदै दैनिक औसतमा १० हजार गाडी आवतजावत गर्ने गर्दछन् । पटक पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौँ ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।

 

बेनी–जोमसोम सडक अवरुद्ध

जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरी र अन्नपूर्ण गाउँपालिका–२ भुरुङ–तातोपानीमा खसेको पहिरोका कारण ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा आज बिहानदेखि सिधा यातायात सेवा अवरुद्ध बनेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजेन्द्र पौडेलले सडक अवरुद्ध हुँदा बेनीबाट मुस्ताङतर्फ र मुस्ताङबाट म्याग्दी हुँदै देशका विभिन्न ठाउँमा जान हिँडेका सवारीसाधनबीच बाटोमै रोकिएको बताउनुभयो । उहाँका अनुसार बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको घुमाउने भिरमा खसेको पहिरोका कारण बेनी–दरबाङ सडक पनि अवरुद्ध बनेको छ । बेनी–दरबाङ म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने सडक हो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले निरन्तरको झरी र पहिरो नरोकिएकाले सडक खुलाउन समस्या भएको बताउनुभयो । आयोजना र निर्माण कम्पनीका उपकरण परिचालन गरिए पनि निरन्तरको झरी र पहिरो खसिरहने भएकाले समस्या भएको शेरचनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =