विश्वकप छनोटको प्लेअफमा अमेरिकामाथि आयरल्यान्डको सहज जित

आयरल्यान्डले आइसिसी विश्वकप छनोटको प्लेअफ खेलमा अमेरिकामाथि ६ विकेटको सहज जित हात पारेको छ । योसँगै आयरल्यान्डले सातौं स्थानको लागि प्रतिस्पर्धा गर्नेछ।

जितको लागि १ सय ९७ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले ३४.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । आयरल्यान्डको जितमा ओपनर पल स्टरलिङले ४५ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ५८ रनको योगदान दिए । एन्डी बालबर्नी ५८ बलमा ५ चौकासहित ४५ रनमा नटआउट रहे ।

एन्डी म्याकबर्नी ३५, ह्यारी टेक्टर र लोर्कान टकर समान २५ रनमा आउट भए । अमेरिकाका स्पिनर नोश्तुश केन्जिगेले दुई विकेट लिए ।

त्यसअघि ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिका ४२.४ ओभरमा १ सय ९६ रनमा अल आउट भएको थियो । अमेरिका साइतेजा मुकामल्ला र सुशान्त मोदानीले समान ५५ रन बनाए । स्टिभ टेलर २३ र उस्मान रफिकले २८ रन बनाए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।

आयरल्यान्डका क्रेग योंगले ७ ओभरमा १ मेडनसहित ३५ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । मार्क आदिर र ब्यारी म्याकार्थीले समान दुई विकेट लिए ।

आयरल्यान्डले अव सातौं स्थानको लाग युएई र नेपालबीचको खेलको विजेतासँग ४ जुलाईमा खेल्नेछ । नेपाल र युएईबीचको खेलमा पराजित हुने टोलीले नवौं स्थानको लागि ६ जुलाईमा अमेरिकासँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − six =