सुरक्षा प्रत्याभूति नभए सेवा बन्द गर्ने लघुवित्त वित्तीय संस्थाहरूको चेतावनी
२०८० असार ११ गते

काठमाडौँ । नेपाल लघुवित्त बैंकर्स सङ्घले आफ्नो सुरक्षा अवस्थामा सुधार नभए लघुवित्त वित्तीय संस्थाहरूले सम्पूर्ण सेवा बन्द गर्ने चेतावनी दिएको छ ।
सोमवार लघुवित्त बैंकर्स सङ्घले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै लघुवित्त वित्तीय संस्थाहरूमाथिको अराजक गतिविधिहरू निरन्तर भए,राज्य संयन्त्रबाट असहयोग भए र सुरक्षा व्यवस्थामा सुधार नभए लघुवित्तहरुले देशभरको सम्पूर्ण वित्तीय सेवा बन्द गर्ने जानकारी गराएको हो ।
लघुवित्त बैंकर्स सङ्घले आज ७७ जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको जानकारी दिएको छ । सङ्घले पछिल्लो समय देशको संवैधानिक कानुनभित्र रहेर सञ्चालनमा रहेका लघुवित्त वित्तीय संस्थाहरू माथि लगातार रूपमा प्रत्यक्ष आँच पुर्याउने र लाखौँ जनताको बैंकिङ प्रतिको भरोसालाई प्रभावित पार्ने काम भएको भन्दै त्यस्तो कार्य तत्काल बन्द गर्न सरकारसँग माग गरेको छ ।
सङ्घले स्वार्थ समूहले आन्दोलनका नाममा भएका अवाञ्छित गतिविधि तत्काल बन्दगरी शान्ति सुरक्षाको आवश्यक प्रबन्ध मिलाउन ७७ जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण पत्र बुझाएको बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै नेपाल लघुवित्त बैंकर्स संघका पूर्वअध्यक्ष वसन्त लम्सालले लघुवित्त वित्तीय संस्थाहरू माथि भएको अराजक गतिविधिमा सरकारले सुरक्षा दिन नसकेको बताए ।
उनले पछिल्लो समय प्रत्येक दिन अराजक गतिविधिहरू बढ्दै गएको भन्दै यही रूपमा अराजक गतिविधि अगाडि बढे बैङ्क तथा वित्तीय संस्थाहरू काम गर्न नसक्ने बताए । उनले वित्तीय संस्थाहरूमा लगाएको लगानीको असुरक्षा बढेको बताए । उनले अहिलेकै अवस्थाको सुरक्षा व्यवस्था हुने हो र सुरक्षा व्यवस्था सुधार नहुने हो भने वित्तीय कारोबार सञ्चालन गर्न नसक्ने बताए । उनले अब कुनै दिन बन्द गरेको घोषणा गर्नुपर्ने अवस्था आएको बताए । उनले लघुवित्तले खराबी गरेको भए नियमनकारी निकायले कारबाही गरे भोग्न तयार रहेको बताए । उनले सरकारले बनाएको कानुन बमोजिम कारोबार गर्दा किन व्यवधान गरिन्छ ? भन्दै प्रश्न गरे ।
संघका महासचिव रामबहादुर यादवले अहिलेकै अवस्था रहे लघुवित्त संस्थाहरूलाई कसैले बन्द गर्नु नपर्ने र आफैँ बन्द हुने अवस्थामा पुग्ने बताए । उनले लघुवित्तहरू बन्द भएभने ग्रामीण क्षेत्रका जनतालाई बैंकिङ सेवा कसले दिन्छ ? भन्ने कुरामा राज्यले विचार गर्नुपर्ने बताए । उनले पैसा तिर्ने चाहनेहरूले पनि सुरक्षाको कारणले तिर्न नपाएको बताए । उनले पैसा तिर्न नदिने कार्य भएको र सङ्घर्ष समितिमा लागेर पैसा फिर्ता गर्न सक्षमले पनि ऋण नतिरेको बताए ।
सङ्घले अहिलेको अवस्थामा कर्जा असुलीभन्दा लघुवित्तकर्मीको सुरक्षा चिन्ताको विषय भएको जनाएको छ । कर्जा असुली हुँदै जानेमा आफूहरू विश्वस्त भएपनि लघुवित्त र लघुवित्तकर्मीहरूको सुरक्षा पहिलो चिन्ताको विषय सङ्घले बताएको छ ।
२०८० असार ११ गते
प्रतिक्रिया








