नेपाल पहिलो पटक पूर्व विश्वविजेता वेस्टइन्डिजसँग भिड्दै

आइसिसी विश्वकप छनोट अन्तर्गत नेपालले बिहीबार वेस्टइन्डिजको सामना गर्ने भएको छ।
नेपाल पहिलो पटक विश्वकप विजेता टोलीसँग खेल्न लागेको हो।
विश्वकप छनोट अन्तर्गत तेस्रो खेलमा चार पटकको विश्वकप विजेता वेस्टइन्डिजसँग खेल्न लागेको हो।
खेल नेपाली समय अनुसार दिउँसो १२ : ४५ बजे जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ।
वेस्टइन्डिज नेपालले प्रतिस्पर्धा गर्ने इतिहासकै सबैभन्दा ठूलो स्तरको टोली समेत हो।
एकदिवसीय विश्वकप वेस्टइन्डिज, भारत, अष्ट्रेलिया, इंग्ल्यान्ड, पाकिस्तान र श्रीलंकाले जितेका छन् । यी विश्वकप विजेता मध्य वेस्टइन्डिजसँग नेपालले खेल्न लागेको हो । अन्य टोलीसँग हालसम्म खेलेको छैन।
आगमी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तानसँग पनि खेल्दैछ । वेस्टइन्डिजले विश्वकप सन् १९७५ र १९७९ मा जितेको थियो । टि२० विश्वकप भने वेस्टइन्डिजले २०१२ र २०१६ मा जितेको थियो।
नेपालले आइतबार पहिलो पटक टेस्टराष्ट्र जिम्बावेसँग खेलेको थियो। जिम्बावेसँग नेपाल ८ विकेटले पराजित भयो।
नेपाल टि२० मा भने आयरल्यान्ड, बंगलादेश, अफगानिस्तान र जिम्बावेसँग खेलिसकेको छ।
ओडिआई वरियतामा वेस्टइन्डिज १० औं र नेपाल १४ औं स्थानमा छन्। त्यस्तै टि२० आई वरियतामा नेपाल १७ औं र वेस्टइन्डिज ७ औं स्थानमा छन्।
पहिलो खेलमा जिम्बावेसँग पराजित भएपनि दोस्रो खेलमा अमेरिकालाई पराजित गरेकाले नेपालको अघिल्लो चरण पुग्ने सम्भावना कायम छ। वेष्टइन्डिजलाई पराजित गरे नेपाल सुपरसिक्समा पुग्ने सम्भावना बलियो हुन्छ। वेष्टइन्डिजले पनि अमेरिकालाई पराजित गरेको छ।
नेपालले अन्तिम खेल नेदरल्याण्डसँग खेल्नेछ। नेदरल्याण्ड पनि जिम्बावेसँग पराजित भएको छ।








