गण्डकीको बजेट अधिवेशन शुक्रबारदेखि

पोखरा । गण्डकी प्रदेशको बजेट अधिवेशन शुक्रबारदेखि सुरु हुने भएको छ । मन्त्रीपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले १२ गतेदेखि संसद् बैठक सञ्चालन गर्न आह्वान गरेका हुन् ।
प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने बाध्यकारी व्यवस्था छ । त्यसअघि नै बजेटका सिद्धान्त र प्राथमिकता पास गर्नुपर्छ । त्यसपछि नीति तथा कार्यक्रम पास भएपछि बजेट ल्याउनुपर्छ । हिउँदे अधिवेशन अन्त्य भएपछि गण्डकीमा १÷१ दिनका लागि विशेष अधिवेशन बसेको थियो ।
दुवै बैठकमा मुख्यमन्त्रीहरूले विश्वासको मत मागे । वैशाख ९ गते तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत मागेका थिए । उनले मत नपाएपछि सरकार ढल्यो ।
त्यसपछि बनेको सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि विश्वासको मत लिन वैशाख २१ गते अर्को अधिवेशन आह्वान भएको हो । पाण्डेले विश्वासको मत पाएपछि सरकार निरन्तर चलिरहेको छ । उक्त अधिवेशन २ दिनअगाडी प्रदेश प्रमुखले अन्त्य गरिदिएका छन् ।








