पोखराबाट लेखनाथ छुटाइदिन चर्को दबाब

पोखरा । २०७२ सालमा पोखरा उपमहानगर, लेखनाथ नगरपालिका र वरपरका गाविसहरू समेटेर पोखरा लेखनाथ महानगरपालिका बन्यो । पालिकाको राम्रो विकास हुने अपेक्षा गरेका लेखनाथवासीले परिवर्तनको महसुस गर्न नपाएपछि पुरानो लेखनाथ छुटाइदिन राज्यको ध्यानाकर्षण गरेका छन् ।
उनीहरूले प्रधानमन्त्रीदेखि सरोकारवाला निकायहरूलाई निरन्तर दबाब दिइरहेका छन् । साबिकको पोखरा र लेखनाथका नागरिकले पाउने सेवा, सुविधामा ठूलो भिन्नता रहेकाले साबिक लेखनाथ नगरपालिका पुनः स्थापना गर्नुपर्ने उनीहरूको माग छ ।
लेखनाथ नगरपालिकाका संस्थापक मेयर शालिग्राम पौडेलले सात तालको बगैँचा सहरको पहिचान बनाउँदै तत्कालीन अवस्थामा २२ नगरपालिकाहरुमध्ये लेखनाथ सबैभन्दा उत्कृष्ट नगर हुन सफल भएको सुनाए । तर अहिले लेखनाथको पहिचान समेत गुम्ने अवस्था आएकोमा उनको चिन्ता छ ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बाबुराम गिरीले स्थानीय तहको पुनर्संरचनाका बखत ग्रेटर पोखराको ललिपप देखाएर महानगरमा गाभिएपनि महानगरवासीको अनुभव आफूहरूले गर्न नपाएको गुनासो गरे । ‘पोखरामा गाभिएपछि लेखनाथवासीमा चरम निराशा छाएको छ । सन्तुलित विकास हुन सकेको छैन,’ उनले भने, ‘लेखनाथको पहिचान नै गुम्ने आउने डर छ । विगतका त्रुटि सच्याएर लेखनाथलाई छुट्टै नगरपालिका बनाउनुपर्छ ।’
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष क्षत्रधर आत्रेयले लेखनाथ पोखरामा गाभिएकोमा लेखनाथवासीहरू झनै असन्तुष्ट बनेका बताए । लेखनाथ नगरपालिका हुँदा आउने बजेट र अहिले महानगरपालिका हुँदा आउने बजेटमा निकै कमी भएको भन्दै कानुनी अडचनहरुको खोजी गरी साबिक लेखनाथलाई लेखनाथ नगरपालिकाकै रूपमा स्थापित गर्नुपर्ने अगुवाहरूको भनाई छ । अहिले दैनिकजसो लेखनाथ छुटाउने अभियान अन्तर्गत अन्तरक्रिया र विभिन्न दबाबमूलक कार्यक्रम हुँदै आएका छन् ।








