राष्ट्रपतिद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई
२०८० वैशाख १९ गते

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली क्रिकेट टोलीले एसिसी प्रिमियर कप क्रिकेटको फाइनल खेलमा विजय हासिल गरेकामा बधाई तथा शुभकामना दिएका छन् ।
उनले आज शुभकामना सन्देशमार्फत नेपाली क्रिकेट टोली एसिया कपमा छनोट भएकोमा खेलाडी, प्रशिक्षक तथा सम्बन्धित पदाधिकारीलाई बधाई दिएका हुन् । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानमा आज सम्पन्न एसिसी प्रिमियर कप क्रिकेटको फाइनल खेलमा नेपाली टोलीले युनाइटेड अरब इमिरेट्सलाई हराएको हो ।
राष्ट्रपति पौडेलले खेलका क्रममा नेपाली खेलाडीले देखाएको दक्षता, धैर्य, लगनशीलता र अनुशासनको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।
राष्ट्रपति पौडेलले भविष्यमा पनि यस्तै उत्कृष्ट प्रदर्शन गर्दै उनीहरूले नेपाल र नेपालीको नाम राख्ने विश्वासका साथ आगामी प्रतियोगिताको लागि पनि शुभकामना व्यक्त गरेका छन् ।
२०८० वैशाख १९ गते
प्रतिक्रिया
सम्बन्धित








