युवा संघले जलायो प्रधानमन्त्री प्रचण्डको पुत्ला (तस्बिरहरु)

प्रमुख प्रतिपक्ष दल एमालेमा आबद्ध राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालको पुत्ला जलाएको छ ।

शनिबार काठमाडौँको नयाँ बानेश्वरमा सरकारविरुद्ध उत्रिएका युवा संघ, नेपालका नेता, कार्यकर्ताहरूले अयोग्य लडाकुलाई २ लाखका दरले राहत दिने गरी ल्याएको कार्यविधि तत्काल खारेज गर्न दबाब दिँदै प्रधानमन्त्री दाहालको पुत्ला जलाएको हो ।

त्यस क्रममा उनीहरूले लडाकुको नाममा अर्बौँ घोटला गर्न खोजेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी लगाएका थिए ।

अयोग्य लडाकुहरूको नाममा आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने गरी ल्याइएको सो कार्यविधि तत्काल खारेज नगरे देशभर आन्दोलनको आँधीबेहरी सृजना गरी सरकारलाई घुडा टेकाउन बाध्य हुने युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले चेतावनी दिए ।

उनी भन्छन्, ‘आम नेपालीहरूको छातीमा बज्रपात गर्दै देशको ढुकुटी रित्याउँदै, देशको ढुकुटीलाई नीतिगत भ्रष्टाचार गरेर पार्टीलाई अर्बाै रकम खन्याउने, लडाकुको नाममा एउटा व्यक्ति पोस्ने, अर्बौँ घोटला गर्ने र आफ्नो घृणित राजनीतिको अभिष्ट पूरा गर्ने योजनाले यो सरकार अगाडि बढेको छ । यो अयोग्य लडाकुहरूको नाममा अर्बौँ घोटला हुने गरी ल्याइएको कार्यविधि फिर्ता हुँदैन, खारेज हुँदैन, तबसम्म यो सरकारलाई हामीले आज ध्यानाकर्षण गराएका छौँ । हिजो ज्ञापन पत्र बुझाएका थियौँ । यदि यो कुचेष्टा अगाडि बढाउन खोज्यो भने देशभर आन्दोलनको आँधीबेहरी ल्याएर यो सरकारलाई घुडा टेकाउन राष्ट्रिय युवा संघ नेपाल जान्दछ ।’

राष्ट्रिय युवा संघ, नेपालले शुक्रबार (हिजो) अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट गरी अयोग्य लडाकुलाई राहत स्वरूप २ लाखका दरले दिने गरी ल्याइएको कार्यविधि खारेज गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको थियो ।

सबै तस्बिरहरु मकालुखबर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =