कुवेतलाई हराउँदै फाइनल पुग्ने सोचमा नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत आज सेमिफाइनलका दुवै खेल हुँदैछन् । टियु क्रिकेट मैदानमा बिहान ९ बजेदेखि घरेलु टिम नेपालले कुवेतको सामना गर्दै छ । सोही समयमा मुलपानी क्रिकेट मैदानमा ओमान र युएईबीच अर्को सेमिफाइनल खेल हुने भएको छ ।

नेपाल कुवेतलाई हराउँदै फाइनलमा स्थान बनाउने लक्ष्यका साथ मैदान उत्रनेछ । समूह ए बाट नेपाल समूह विजेता हुँदै र ओमान उपविजेता हुँदै सेमिफाइनलमा पुगेका हुन् भने समूह बि बाट युएई समूह विजेता र कुवेत उपविजेता हुँदै सेमिफाइनलमा पुगेका हुन् । १० टोली सहभागी प्रतियोगिताको समूह ए मा आयोजक नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब थिए भने समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका थिए ।

समूह ए बाट मलेसिया, कतार,  साउदी अरेबिया तथा समूह बि बाट हङकङ, सिंगापुर र बहराइन समूह चरणबाट बाहिरिएका थिए । यही वैशाख ५ देखि सुरु भएको यस प्रतियोगिताको फाइनल खेल  वैशाख १८ गते हुनेछ । यस प्रतियोगिताको विजेता टोलीले एसिया कपको समूह ए मा रहेका भारत र पाकिस्तानसँग खेल्न पाउने छ ।

मुलपानीमा पहिलो एकदिवसीय खेल हुँदै 
मुलपानीको माथिल्लो क्रिकेट मैदानमा पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त खेल हुने भएको छ । ओमान र युएईबीचको सेमिफाइनल खेलसँगै मुलपानीमा पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल हुने भएको हो ।

क्यानका अनुसार ओमान र युएई एकदिवसीय मान्यताप्राप्त टिम भएकाले दुई बिच हुने खेललाई पनि एकदिवसीय मान्यता प्रदान हुनेछ । यसअघि मुलपानीमा समूह चरणका १० खेल भए पनि कुनै पनि खेल एकदिवसीय मान्यता प्राप्त थिएनन् । तर आज एकदिवसीय मान्यताप्राप्त दुई टिम भिड्ने भएसँगै मैदानले पनि एकदिवसीय मान्यता पाउने भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =