निरा पाण्डे हत्या : सीआईबी प्रमुखको नेतृत्वमा अनुसन्धान सुरु

कपनमा भएको महिला हत्याको घटना अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखको नेतृत्वमा टोली खटिएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय सहितका युनिटले एकसाता सम्म पनि पत्ता लगाउन नसकेपछि सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यको नेतृत्वमा अनुसन्धान समिति परिचालन भएको हो।

यसअघि जिल्ला प्रहरी परिसर काठमाडौं, उपत्यका अपराध अनुसन्धान कार्यालय, उपत्यका प्रहरी कार्यालय र बौद्ध बृत्तले छुट्टा छुट्टै अनुसन्धान गरिरहेका थिए। तर एक अर्कामा समन्वयको अभाव र नतिजा पनि अपेक्षित हात पर्न नसकेपछि उच्च तहलाई जिम्मा दिइएको हो।

नेपाल प्रहरीको सबैभन्दा ठूलो अनुसन्धान युनिट सीआईबी हो र त्यसको प्रमुख बज्राचार्य हुन्। अहिले यो घटना अनुसन्धान गर्न उनैको नेतृत्वमा टोली परिचालन गरिएको हो।

सीआईबी प्रमुख बज्राचार्य नेतृत्वको अनुसन्धान समितिमा काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्की, उपत्यका अनुसन्धान कार्यालय प्रमुख एसएसपी मनोज केसी, सीआईबीका एसएसपी दिनेश आचार्य लगायत ११ सदस्य छन्।

वैशाख ७ गते दिउँसो कपनको सरस्वती नगरमा भाँडा पसल सञ्चालन गर्ने निरा पाण्डेको हत्या भएको थियो। शरीरका विभिन्न ठाउँमा चक्कू रोपेर हत्या गरिएको अवस्थामा ग्राहले फेला पारेका थिए।

तर दुई मिनेटको दुरीमा अर्को पसलमा रहेका निराका श्रीमानले भने पत्ता पाएका थिएनन्। हत्यामा प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ। आफन्तदेखि ग्राहकसम्म प्रहरीको अनुसन्धान दायरामा छन्। तर एकसातासम्म प्रहरीले कुनै क्ल्यु फेला पार्न सकेको छैन।

आफन्तले भने हत्यारा पत्ता लगाउन माग गर्दै धर्ना दिन थालेपछि प्रहरीले एआईजी नै खटाएको हो। राजधानीमा भएको हत्या एकसातासम्म पनि पत्ता नलाग्दा प्रहरीको क्षमतामाथी समेत प्रश्न उठ्न थालेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =