गण्डकीका मुख्यमन्त्री अधिकारीको अन्तिम म्याद आज, आजै विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी अल्पमतमा परेको आज २९ औँ दिन पुगेको छ । केन्द्रको राजनीतिमा आएको फेरबदलसँगै अधिकारी सरकारबाट माओवादीले आफ्ना मन्त्री फिर्ता बोलाएर समर्थन झिकेको थियो । चैत १० देखि २४ सांसदको मात्रै समर्थनमा सरकार चलाएका अधिकारीले आज संसद्बाट विश्वासको मत लिँदै छन् ।

सरकार बनाउन ३१ सांसदको समर्थन चाहिन्छ । अधिकारीलाई ७ सीट पुगेको छैन । माओवादी कांग्रेससँग मिलेपछि विपक्षीसँग बहुमत छ । कांग्रेस-माओवादी-एस सहित सभामुख बाहेक नै ३५ सीट पुग्छ । अधिकारीले विश्वासको मत लिने जानकारी सहितको पत्र संसद् सचिवालयमा बुझाएका छन् ।

उनको विश्वासको मत लिने कार्यसूचीकै लागि बन्द रहेको प्रदेश अधिवेशन पनि आजैदेखि खुल्दै छ । आज ३ बजे अधिकारीले विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । उनले विश्वासको मत पाउने दाबी गरिरहेका छन् । उनले विश्वास नपाए गण्डकीमा नयाँ सरकार गठन हुन्छ ।

नयाँ सरकारको नेतृत्व कांग्रेसले गर्ने कि माओवादीले गर्ने भन्ने अझै टुंगो लागेको छैन । माओवादीले तनहुँ १ को उपनिर्वाचनलाई देखाएर पहिलो चरणको मुख्यमन्त्रीमा दाबी गरेको छ । तर कांग्रेस उक्त प्रस्ताव मान्न तयार छैन । कांग्रेसका दलका नेता सुरेन्द्र राज पाण्डे मुख्यमन्त्री बन्न तम्तयार छन् भने माओवादीका दलका नेता हरिबहादुर चुमान पनि निरन्तर केन्द्रीय नेतृत्वसँग छलफलमै छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =