‘पुरानो जति सडेगलेको र नयाँ जति राम्रो’ भन्ने भ्रममा नपर्न कार्यकर्तालाई गगनको आग्रह

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले महाविपत्तिमा जसरी काम गर्नुपर्ने बताएका छन् ।

थापाले प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, प्रदेश मन्त्रीदेखि स्थानीय तहका वडाध्यक्षले समेत महाविपत्तिको बेलामा जस्तो सोचेर काम गर्नुपर्ने बेला आएको बताएका हुन् ।

नेपाली कांग्रेस मकवानपुर–काठमाडौँ सम्पर्क समितिले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुक संकटमा रहेको बेला सरकारले त्यसलाई महसुस गरेर परिणाम दिने गरी काम गर्नुपर्ने स्पष्ट पारे ।

महामन्त्री थापाले सुझबुझपूर्ण ढंगले काम नगरे मुलुक झनै संकटमा पर्दै जानेतर्फ पनि सरकारलाई सचेत गराए । सरकारले राम्रो काम गर्दै गए ३-४ महिना भित्रै मुलुक सम्हालिँदै जाने उनको भनाई थियो ।

थापाले भने,‘प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, चाहे त्यो प्रदेशको मन्त्री होस् । चाहे त्यो नगरको मेयर होस् वा चाहे त्यो वडाध्यक्ष होस् । चाहे त्यो देशमन्त्री, प्रधानमन्त्री होस् । उसको सोच्ने तरिका भनेको नेपालमा अहिले महाविपत्ति आएको छ । संकटको बेला छ । युद्धको बेलामा जस्तो सोच्ने हुनु पर्दछ । उसलाई भ्याई नभ्याई हुनु पर्दछ । त्यो अप्ठ्यारो उसले महसुस गर्न सक्नु पर्दछ । अनि मात्रै परिणाम दिन सकिन्छ । यो सरकारमा बस्ने साथीहरूले गर्ने काम हो । हामी अहिले सरकारमा छौँ । काँग्रेस सरकारमा छ । तपाई हामी सबैले मेहनत गरेर निर्वाचित भएर प्रदेशको सरकारमा, संघको सरकारमा पुगेका छौँ । यहाँ बसेर हामीले परिणाम दिने हो । यसमा हामीले ठिक ढंगले काम गर्न सक्यौ भने अबको ३-४ महिना भित्रमा फेरी देशमा सबै कुरा सम्हाल्न नसकिने भएको पनि होइन । स्थिति ठिक छैन, असहज छ । राम्रोसँग सम्हालेनौ भने बिग्रँदै जान्छ । ठिक ढंगले सुझबुझपूर्ण ढंगले सम्हाल्दै गयौ भने फेरी सम्हालिँदै जान्छ ।’

थापाले २०८० सालमा नेपाली काँग्रेसलाई सुद्धिकरण र सुदृढीकरण गर्नका लागि सिंगो पार्टी पंक्ति लाग्नुपर्ने पनि बताए । उनले २०८० सालको ज्येष्ठ अन्तिम साता नेपाली काँग्रेसको नीति अधिवेशन हुने तयारी भइरहेको उल्लेख गर्दै त्यसमा पार्टीको सुदृढीकरण र सुद्धिकरणका लागि व्यापक छलफल गर्न पनि पार्टीका नेता, कार्यकर्ताहरूलाई आग्रह गरे ।

महामन्त्री थापाले ‘पुरानो जति सडेगलेको र नयाँ जति राम्रो’ भन्ने भ्रममा नपर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । उनले भने, ‘मेरो खाली तपाईँहरूलाई यति मात्रै आग्रह हो–कि अहिले पुरानो जति सडेगलेको, नयाँ जति राम्रो भन्ने भ्रमपूर्ण नाराका साथमा जुन खालको गिजोल्ने प्रयास नेपालको राजनीति र नेपाली समाजमा भइरहेको छ । त्यसको प्रभाव मकवानपुर काँग्रेसलाई नपरोस् । त्यसको प्रभाव नपर्नका निम्ति हाम्रा बीचमा भएका बेमेलहरुलाई हटाएर सबै वडा सम्मेलनहरू गर्नु प¥यो । प्रदेश सम्मेलन गर्नु प¥यो । क्षेत्रीय सम्मेलन गर्नु प¥यो । जिल्ला सम्मेलन गर्नु प¥यो भातृ संस्था सबैलाई सम्मेलन गरेर सबैलाई सुदृढ बनाएर पार्टी भित्र बन्द कोठामा बसेर, छलफल गरेर बाहिरका मानिसहरूलाई हाम्रो पार्टीमा खेल्न नदिनका लागि हाम्रो पार्टीलाई सुदृढ बनाएर, एक ढिक्का बनाउनु पर्छ । २०८० साललाई निर्वाचन प्रणालीमा सुधारका लागि बहस सुरु गरौँ । हामी ज्येष्ठको अन्तिम साता दिन काँग्रेसको नीति सम्मेलन गर्ने तयारी गर्दैछौं । त्यसमा व्यापक रुपमा छलफल गरौँ । र, यो साललाई काँग्रेसको सुद्धिकरण र काँग्रेसको सुदृढीकरणको लागि प्रयोग गरौँ ।’

थापाले कुनै पनि पार्टीले एकल सरकार बनाउने अवस्था नरहेको भन्दै निर्वाचन प्रणाली सुधारका लागि संविधान संशोधन गर्नुपर्नेमा पनि जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =