मन्त्रीको आश्वासन सधैँ आयो, पोखराको रत्न मन्दिरमा गणतन्त्र कहिल्यै आएन

पोखरा । पटकैपिच्छे पर्यटनमन्त्री पोखरा आउँदा डायरीमा लेखिने योजना हो, ‘रत्न मन्दिर र हिमागृह सर्वसाधारणलाई खुला गर्ने ।’ राजा महेन्द्रले २०१३ सालमा जग्गा किनेर २०१६ मा निर्माण गरेका रत्नमन्दिर राजपरिवारको हिउँदे दरबारको रूपमा प्रयोग गरिन्थ्यो । हरेक वर्षको हिउँदमा आराम गर्नका लागि यो दरबार निर्माण गरिएको थियो । आडैको हिमागृह भने २०३२ सालमा निर्माण भएको हो ।
दुवै दरबार अहिलेसम्म सर्वसाधारणले देख्न पाएका छैनन् । पोखराका पर्यटन व्यवसायीहरूले दरबार खुला गर्नुपर्ने माग सधैँ राख्छन् । सम्बद्ध अधिकारीहरूले खुला गर्ने आश्वासन दिन्छन् तर खुला हुँदैन । पर्यटन मन्त्री सुदन किराँतीले पनि छिटै सर्वसाधारणका लागि खुला गर्ने प्रतिबद्धता जनाएका छन् ।
शनिबार रत्न मन्दिर अवलोकन गरेपछि उनले भने, ‘मैले कार्यक्रम बनाएर नेपाल ट्रष्टका सचिवलाई फाइल तयार गर्नुस् भनेको छु । अब छिटै खुल्छ ।’ पर्यटन मन्त्रीको पोखरा भ्रमणमा व्यवसायीको सधैँको माग हो यो । किराँतीले ट्रष्टका सचिवलाई बैठक राखेर दरबार र संग्राहलय खोल्न बिजनेस प्लान मागेको बताए । ‘बिजनेस प्लान दिनुस् भनेको छु, आएको छैन । हामी धेरै राम्रो बनाउने तिर भन्दा जति तयारी छ, भएको चिज खोल्दै जाने बाटोमा लाग्नुपर्छ,’ उनले भने, ‘ठूला योजना बिस्तारै गर्दै जाने हो ।’
राजा भर्खरै निस्केर गएका कारण नारायणहिटी दरबार खोल्न धेरैले चासो देखाए । सर्वसाधारण नागरिकलाई पनि कस्तो होला भन्ने कौतुहलता बढ्यो र हतारमै खुल्यो । यो चाहिँ ट्रष्टको मातहत राखिएको छ । ‘पहिले रक्षा मन्त्रालयको हातमा गयो । पछि गृह मन्त्रालयको हातमा पुग्यो,’ किराँती भन्छन्, ‘महिनौँ बैठक नबस्ने भयो । अहिले पर्यटन मन्त्रालयको हातमा आएको छ, धेरै कुरा किनारा लगाउँदै लगेका छौँ । बाँकी काम पनि छिटै हुन्छ ।’
नयाँ वर्ष लागेपछि केही व्यवस्थापन मिलाएर खुला गरिने उनको आश्वासन छ । केही समयअघि यो क्षेत्रलाई रिसोर्टको रूपमा पनि प्रस्ताव गरिएको थियो । ‘व्यापारिक कम्प्लेक्स बनाउने र रिसोर्ट बनाउने होहल्ला पनि चलेको थियो । केही ग्रुपहरू पनि लागे होलान्, पोखरेली बासीको भावना अनुसार हामी गर्छौँ । उहाँहरूलाई चोट पुग्ने गरी काम गर्दैनौँ,’ उनले भने ।








