पोखराका स्कुललाई महानगरको निर्देशन- ब्रिज कोर्ष नपढाउनू, ३ सय मिटर भित्र रक्सी चुरोट बेच्न नदिनू

पोखरा । पोखरा भित्रका स्कुललाई महानगरपालिकाले ब्रिज कोर्ष नपढाउन निर्देशन दिएको छ । विगतका वर्षहरूमा धेरै विद्यालयहरूले ब्रिज कोर्षका नाममा विद्यार्थीबाट चर्को शुल्क उठाउने गरेको गुनासो आएपछि अहिलेदेखि उक्त कार्य रोक्न निर्देशन दिइएको हो ।

यस्तै विद्यालय परिसरबाट शैक्षिक सामग्री नबेच्न भनिएको छ । नगर शिक्षा परिषद् र नगर शिक्षा समितिको संयुक्त बैठकले अध्ययन अवधिभर १ पटक मात्रै भर्ना शुल्क लिन पाउने निर्णय गरेको छ । ‘एउटै विद्यालयमा अध्ययन गर्दा अध्ययन अवधि भर भर्ना शुल्क बापत एक पटक मात्र लिनुपर्ने छ । कक्षा ११ को विद्यार्थी भर्नासँग सम्बन्धित कुनै पनि ब्रिज कोर्स सञ्चालन गर्न पाइने छैन,’ निर्णयमा भनिएको छ, ‘विद्यालय हाताभित्र पाठ्यपुस्तक तथा शैक्षिक सामाग्री बिक्री वितरणमा पनि नगर्नु ।’

विना प्रमाणपत्र विद्यार्थीहरू भर्ना नगर्न महानगरले सबै स्कुललाई निर्देशन पठाएको छ । पोखराले वैशाख १० गते देखि नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु गर्ने निर्णय गरिसकेको छ । महानगरभित्र सञ्चालित विद्यालय क्षेत्रको १०० मिटर दुरी भित्र सुर्ती तथा मदिराजन्य वस्तुहरूको बिक्री वितरणमा पूर्णतः निषेध गरिएको छ ।

स्कुल बस पनि अबदेखि साढे १ घण्टाअघि मात्रै विद्यार्थी ओसार्न परिचालन गर्नुपर्ने भएको छ । विद्यार्थीहरू पठनपाठन भन्दा निकै अगाडी स्कुल बस लिन आउने र लामो समय बसमै बिताउनुपर्ने गुनासो आएपछि महानगरले यस्तो निर्णय गरेको हो । २० वर्ष पुराना गाडी स्कुल बसको रूपमा प्रयोग नगर्न भनिएको छ भने प्रत्येक ६ महिनामा पूर्ण सर्भिसिङ गर्नुपर्ने छ । निर्देशन कार्यान्वयन नभए कारबाही गरिने मेयर धनराज आचार्यले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 2 =