बन्नेभयो गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, सरकारले लियो स्वामित्व

सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडी बढाउने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले स्वामित्व लिएर काम अगाडि बढाउने निर्णय गरेको हो। झण्डै दुई वर्षदेखि रंगशाला निर्माणको काम रोकिएको छ।
रंगशाला निर्माणका लागि दाताले बोलेको रकम नदिएपछि धुर्मुस–सुन्तली फाउण्डेशन पछि हटेको थियो। निर्माणको क्रममा खरिद गरेका सामाग्रीकै रकम तिर्न बाँकी छ।
ऋणमा परेपछि फाउण्डेशनले रंगशालाको स्वामित्व महानगरलाई हस्तान्तरण गरेको थियो। तर निर्माण कार्यभने अगाडी बढ्न सकेको थिएन।
फाउण्डेसनको ऋण के गर्ने भन्ने विषयको टुंगो नलाग्दा अन्यौल बढेको थियो।
रंगशालाका लागि बागमती प्रदेश सरकारले ३० करोड, भरतपुर महानगरपालिकाले १६ करोड ७५ लाख, जिल्ला समन्वय समितिले २ करोड २२ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए।
तर ३० करोड घोषणा गरेको प्रदेश सरकारले जम्मा ३ करोड दिएको थियो। भने अन्यले पनि घोषणा अनुसार रकम दिएका थिएनन्।
महानगरबाट ८ करोड ५ लाख रुपैयाँ दिएको थियो। अन्य दाताले पनि फाउण्डेसनलाई ढाँटेका थिए।
फाउन्डेसनले निर्माणको ३५ प्रतिशत काम सम्पन्न भएको दाबी गरेको छ।








