सरकार र मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता जारी

काठमाडौँ । सरकार र मिटरब्याज पीडित संघर्ष समितिबीच दोस्रो चरणको वार्ता गृह मन्त्रालयमा सुरु भएको छ । बिहीबार बिहान भएको पहिलो वार्ता निष्कर्षविहीन भएपछि साँझ बस्ने भनिएको वार्ता बस्न नसकेपछि आज बिहानका लागि वार्ता सारिएको थियो ।
बिहीबार साँझ नै दोस्रो चरणको वार्ता हुने भनिए पनि पीडित पक्षले तयारी नपुग्ने भन्दै आज बिहानसम्मको समय मागेका थिए । संघर्ष समितिका तर्फबाट वार्ता टोली सदस्य संघर्ष दाहालले दोस्रो चरणको वार्ताका लागि आफूहरू गृह मन्त्रालयमा रहेको बताए ।
वार्तामा सरकारको तर्फबाट गृह मन्त्रालयकी सहसचिव रुद्रदेवी शर्मा र पीडितको तर्फबाट संघर्ष समिति संयोजक मनोज कुमार पासवानले नेतृत्व गरेका छन् ।
सरकारी वार्ता टोलीमा गृह मन्त्रालयका सहसचिव रुद्रदेवी शर्मा, गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर दङ्गाल छन् ।








