नेपालले आज युएईको सामना गर्दै, सन्दीप पनि मैदानमा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेटले आइसीसी विश्वकप लिग टू अन्तर्गतको युएई र पपुवा न्युगिनीसँगको त्रिकोणीय सिरिजमा आज दोस्रो खेल खेल्दै छ । नेपालले यस सिरिज अन्तर्गत आज दोस्रो खेल युएईसँग खेल्ने छ । खेल नेपाली समय अनुसार ११:४५ देखि शुरु हुने छ ।

नेपालले आइसीसी विश्वकप लिग टू अन्तर्गत यस सिरिजमा २७ फेब्रुअरी पपुवा न्युगिनीविरुद्ध खेलिसकेको छ र यस खेलमा नेपालले चार विकेटको जित निकालेको थियो । त्यस्तै यस सिरिजमा मंगलबार सम्पन्न खेलमा पपुवा न्युगिनीले युएईलाई पराजित गरेको छ ।

नेपालले श्याम ढकाल (मौसम) घाइते भएपछि उनको ठाउँमा सन्दीप लामिछानेलाई टिममा समावेश गरेको छ । अब आज  मार्च २ मा युएई, मार्च ३ मा पपुवा न्युगिनी र मार्च ६ मा युएईसँग खेल्नेछ । त्यसपछि नेपालले टियु क्रिकेट मैदानमा मार्च ९ मा पपुवा न्युगिनीसँग खेल्नेछ । मार्च १२ मा युएई, मार्च १३ मा पपुवा न्युगिनी र मार्च १६ मा युएईसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल हाल आइसीसी विश्वकप लिग टूमा २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अंकका साथ छैटौँ स्थानमा छ । नेपालले शीर्ष पाँचमा रहन सके सोझै एकदिवसीय मान्यता प्राप्त गर्नेछ ।

यदि नेपालले लिग-२ को शीर्ष पाँचमा पर्दै सोझै एकदिवसीय मान्यता प्राप्त गर्न नसके क्वालिफायर प्ले अफमा अन्तिम मौका हुनेछ । त्यस्तै पपुवा न्यूगिनीको ३० खेलमा केवल ७ अंक छ र पुछारमा रहेको छ भने युएईको २९ खेलमा २९ अंकसहित पाँचौँ स्थानमा रहेको छ ।

नेपालको टोली 
रोहित पौडेल (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, सन्दीप जोरा, कुशल मल्ल, सन्दीप लामिछाने, गुलशन झा, आरिफ शेख र प्रतिश जि.सी ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 1 =