भारतका मोन्टीको इन्ट्रीले नेपाली ब्याटिङमा देखिएकाे कमाल

किर्तिपुर मैदानमा सम्पन्न त्रीदेशिय सिरिजमा नेपालले लिग २ का शीर्ष २ टोलीमाथि ऐतिहासिक जित हात पार्यो। नेपालले खेलेका ४ वटै खेल आफ्नो पक्षमा पर्दा, विश्वकप छनौट खेल्ने संभावना जिवित रह्यो।

लिग २ च्याम्पियन बनिसकेको स्कटल्याण्ड र तेस्रो स्थानमा रहेको नामिविया छैठौं स्थानको नेपालसँग २÷२ खेल हारे। लिग २ मा लगातार ४ खेल, त्यो पनि शीर्षस्थानका देशविरुद्ध जित हात पार्दै नेपालले इतिहास रच्यो।

यो सिरिजमा नामिविया सबै खेलमा हार्यो। नेपालले सबै खेल जित्यो। स्कटल्याण्डले २ खेल हार र २ खेल जितसहित लिग २ टुंग्यायो। अब उसले विश्वकप छनौट खेल्ने पक्का भएको छ।

खासगरी नेपाली क्रिकेट केही समयदेखि अस्थिर छ। क्यानदेखि खेलाडीसम्म विवादमा छन्। भताभुंगजस्तै रहेको नेपाली क्रिकेट सम्हालेका थिए भारतका प्रशिक्षक मोन्टी देसाइले। उनले नेपाली टोली सम्हालेको १५ दिन पनि भएको छैन। माघको तेस्रो साता मात्रै उनको टुंगो लागेको हो।

तर छोटो समयमै उनले नेपाली टोलीमा सुधार ल्याएको पुष्टि गरेका छन्। देसाई ब्याटिङ प्रशिक्षक हुन्। नेपालका लागि आवश्यकता पनि ब्याटिङ सुधारकै थियो। यसअघि उनले विश्वकप खेल्ने देशमा पनि प्रशिक्षण गरेका थिए।

नेपाली राष्ट्रिय टोलीका लागि उनको यो पहिलो प्रतिस्पर्धा थियो। ५ वर्ष अघि उमेर समूहलाई प्रशिक्षण दिएका थिए। यो बाहेक वेष्ट इन्डिजको ब्याटिङ प्रशिक्षक थिए। ३ वर्ष त्यहाँ प्रशिक्षण दिएर मोन्टी नेपाली टोली सम्हाल्न आएका हुन्।
देसाइ वेस्ट इन्डिज, अफगानिस्तान, युएई, क्यानडाको प्रशिक्षक भइसकेका छन्। आईपीएलमा पनि गुजारत, राजस्थान, पन्जाबको प्रशिक्षकको रुपमा काम गरिसकेका छन्।

१५ दिन अघि नेपाली टोलीको नेतृत्व पाउँदै उनले भनेका थिए, ‘नेपाली टोलीका लागि के गर्नुपर्छ भन्ने मलाई राम्रोसँग थाहा छ।’ लिग २ मा उनले त्यो क्षमता देखाइसकेका छन्। त्यो पनि डेब्यूमै, छोटो समयमै।

 

ब्याटिङमा देखिएको सुधार

किर्तिपुरमा खेलेका चार वटै खेलमा नेपालले टस जित्यो र पहिले फिल्डिङ रोज्यो। ३ वटा खेलमा २७० माथीको लक्ष्य पूरा गर्यो। मंगलबार २१३ रनको लक्ष्य भेट्यायो।

यी लक्ष्यभन्दा पनि नेपाली टोलीको ब्याटिङमा सुधार देखियो। एउटै खेलाडीमा नेपालको ब्याट निर्भर रहेन। हरेक खेलमा फरक खेलाडी चम्किए।

सुरुवात धरासयी बन्दा पनि सम्हालिएर लक्ष्य पूरा गर्न सफल भयो। यसअघि डिसेम्बर ७ र ८ मा नेपाली यीनै टोलीसँग पराजित भएको थियो। नामिवियाले दिएको २७५ रनको लक्ष्य पूरा गर्न सकेको थिएन। स्कटल्याण्डले ११९ रनमै समेटेको थियो। नेपालले दिएको लक्ष्य स्कटल्याण्डले १७ ओभरमा पूरा गरेको थियो।

तर दुई महिनापछि घरेलु भूमिमा नेपालले चमत्कार देखायो। पहिलो खेलमा नाामिवियाविरुद्ध कुसल भुर्तेलले ११५ रन जोड्दा कप्तान रोहित पौडेलले ७२ रन जोडे। दोस्रो खेलमा स्कटल्याण्डविरुद्ध सुरुवातका ब्याट्सम्यान चलेनन्। तर पनि नेपाली इनिङ्स धर्मराएन।

यो खेलमा नेपाली टोलीलाई कुसल मल्ल र दीपेन्द्र सिंह ऐरीले सम्हाले। कुसलले ८१ रन बनाउँदा दीपेन्द्र ८५ रनमा नटआउट रहे। यी दुईको जोडीले ऐतिहासिक उच्च स्कोर बनायो।

तेस्रो खेलमा नामिवियाविरुद्ध पनि २७४ रनको लक्ष्य पाएको थियो। यस पटक ब्याटिङको जिम्मेवारी अघिल्ला ब्याट्समेनकै भरमा रहेन। आसिफ शेखले ८१ रन जोड्दै जिततर्फ डोहो¥याउँदा ज्ञानेन्द्र मल्लले ६५ र कुसल मल्लले ६२ रन जोडे। रोहितले ३९ रन जोड्दा नेपालले सहज जित हात पार्यो।

यो सिरिजमा नेपालले पाएको सबैभन्दा कम लक्ष्य मंगलबारकै हो। तर २१३ रनको लक्ष्य पूरा गर्न नेपाललाई हम्मे हम्मे पर्यो। कुसल र आशिफको जोडि जमेन। कुसल १२ रनमै आउट भए। ज्ञानेन्द्र मल्ल पनि २१ रनमा आउट भए।

कप्तान रोहितलाई क्रिजमा कसैले साथ दिन नसक्दा नेपालले ८ विकेट गुमायो। लगभग नेपालले त्यतिबेला खेल हार्ने अवस्थामा पुगिसकेको थियो। तर रोहीतलाई करणले साथ दिँदा नेपालले इतिहास रच्यो। रोहितले ९५ रनको नटआउट पारी खेल्दा करणले ३१ रन जोड्दै अन्तिमसम्म साथ दियो। अन्ततः नेपाली ब्याटरमा सुधार मात्रै देखिएन ऐतिहासिक जित नै हात पर्यो।

बलिङ सन्दीपकै भरमा

यो सिरिजका हिरो बने सन्दीप। साढे तीन महिना थुनामा बसेर छुटेका उनले नेपाली टोलीको जितमा महत्वपुर्ण योगदान दिए। तनाबकाबीच सन्दीपले ऐतिहासिक सफलता चुमे।

यो सिरिजमा सर्वाधिक विकेट लिने बलर बने। सुरुका ३ खेलमा ३ विकेटका दरले लिएका सन्दीपले मंगलबार ४ विकेट लिए। ४ खेलमा उनले १३ विकेट लिन सफल भए।

यो संख्यामा भन्दा पनि सन्दीपले टोलीलाई सम्हाल्न महत्वपुर्ण भूमिका निर्वाह गरेका छन्। मंगललबार सुरुवाती ब्याट्सम्यान नै नेपाली बलरसामु हाबी भएका थिए। विकेट नगएर तनावमा रहेको नेपाललाई सन्दीपले सुरुका दुई ओभरमै ३ विकेट लिएर खुसी दिलाए।

स्कटल्याण्ड सस्तैमा समेटिनुमा सन्दीपका यीनै विकेट खोसेढुंगा सावित भए। सधै बलिङको भरमा रहेको नेपाली टोलीले यसपटक ब्याटिङमा सुधार गरे पनि बलिङमा भने सन्दीपको विकल्प देखिएको छैन।

यस लगतै नेपाली टोली लिग २ का बाँकी खेल खेल्न युएई जाँदैछ। सन्दीप भने मुद्दाका कारण विदेश जान पाउने छैनन्। उनले अदालतमा अपिल गर्ने तयारी त गरेका छन् तर अदालतले उनलाई यो मौका नदिए सन्दीप बिनाको नेपाली टोलीको खेल युएईमा देखिने छ। जहाँ सन्दीपको महत्व थप प्रश्ट हुनेछ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =