औद्योगिक क्षेत्रको प्रदूषण खोज्दै पोखरा महानगर, विज्ञ टोली बनाइने

पोखरा । पोखराको औद्योगिक क्षेत्रमा वातावरणीय प्रदूषणको हालको अवस्था पत्ता लगाउन महानगरले चासो देखाएको छ । त्यसका लागि विज्ञ टोली बनाइने भएको छ । औद्योगिक क्षेत्रबाट निस्कने ढल तथा वातावरणीय प्रदूषणको उचित व्यवस्थापनका लागि छलफल गर्दै महानगरले प्रदूषण खोजी गर्ने गरी विज्ञ टोली गठन गर्ने निर्णय गरेको हो ।

पोखरामा पछिल्लो समय सबैभन्दा बढी वायु प्रदूषण भएको एउटा रिपोर्ट निकालिएको छ । हरेक दिनजसो यहाँको प्रदूषणको इन्डिकेट ३५१ पुगेको छ । मेयर धनराज आचार्यले सफा र सुन्दर सहरमा यति धेरै प्रदूषण हुनु चिन्ताको विषय भएको भन्दै सचेतना जगाउँदै जोखिम न्यूनीकरणको काम गर्ने बताए ।

‘पोखराको प्रदूषण चिन्ताजनक छ । औद्योगिक क्षेत्रमा रहेका उद्योगबाट निस्किने प्रदूषण र निराकरणको उपाय तत्कालै खोज्नुपर्ने छ,’ उनले भने, ‘औद्योगिक क्षेत्रमा तुरुन्तै प्रविधियुक्त ट्रिटमेण्ट प्लाण्ट स्थापना गर्नुपर्छ । वातावरणको संरक्षणमा हामी सबै गम्भीर नभए परिस्थिति जटिल बन्न सक्छ ।’

ट्रिटमेण्ट प्लाण्ट नबनाए उद्योगहरूमा ताला लगाउने अवस्था आउने उनले बताए । ‘किन्तु परन्तुको कुरा छैन । तुरुन्तै उपयुक्त ठाउँमा प्लाण्ट बनाउनुपर्छ,’ आचार्य भन्छन्, ‘अन्यथा ताला लगाउने अवस्थामा पुग्छौँ ।’ छलफलमा सहभागी पोखरा औद्योगिक क्षेत्र उद्योग सङ्घका अध्यक्ष सुरेश श्रेष्ठले यस विषयमा आफूहरू गम्भीर रहेको बताए । वातावरणीय स्वच्छताका लागि उद्योगी व्यवसायीहरू पनि इमान्दार रहेको उनको भनाई छ ।

अध्ययन अनुसार वर्षौं पूराना सवारी साधनका कारण वायु प्रदूषण बढी भएको निष्कर्ष छ । त्यसबाहेक नजिकका जंगलहरुमा लगाइएको आगो, सवारी चाप बढ्नु र उद्योग, कलकारखानाहरू पनि प्रदूषणको प्रमुख कारक हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − one =