गठबन्धनलाई सत्ता प्राप्तिको विषयमा मात्र केन्द्रित गर्नु दुर्भाग्यपूर्ण : कांग्रेस गण्डकी

पोखरा । नेपाली कांग्रेस गण्डकीले गठबन्धन सत्ता प्राप्तिमा मात्रै केन्द्रित हुनु दुर्भाग्यपूर्ण भएको बताएको छ । एक विज्ञप्ति जारी गरी कांग्रेसले गठबन्धनलाई नेपाली जनताले आसा र भरोसाका साथ विजयी गराएपनि सत्तामा मात्रै केन्द्रित भएर गठबन्धन टुटेको आरोप लगाएको छ ।
गठबन्धन सरकार गठनका सन्दर्भमा अनपेक्षित र अप्रत्याशित घटनाक्रमको विकास भई निर्वाचन परिणाम प्राप्त भएको १५ दिन पनि बित्न नपाउँदै ५ दलीय गठबन्धन टुट्नु दुर्भाग्यपूर्ण घटना भएको सभापति शुक्रराज शर्माले बताए । ‘यो घटना नेपालको प्रजातान्त्रिक इतिहासमा र संसदीय व्यवस्थाको लामो अभ्यासहरूमा अत्यन्त दुर्भाग्यपूर्ण घटना हो,’ उनले भने, ‘दलहरूले जनतामाझ व्यक्त गरेका सम्पूर्ण आश्वासनहरू धोका धडिमा बदलिनुका साथै देश, जनता र नेपाली कांग्रेस पार्टी स्वयम्लाई पनि धोका भएको छ ।’
महामन्त्री किरणबाबु श्रेष्ठले संविधान रक्षाका लागि बनेको गठबन्धनका केही दलहरूले पुनः संविधान मास्नेकै साथ लागेर सरकार बनाउनु दुखद भएको बताए । ‘निर्वाचनमा हामी ५ दलीय गठबन्धनका पार्टीहरू संविधानको रक्षा, स्थिरता र समृद्धिको नारा सहित जनतामाझ प्रस्तुत भएका थियौँ । तर अहिले नयाँ गठबन्धनको सरकार निर्माणले यो विषय पनि धरापमा परेको छ,’ उनले भने, ‘नेपाली जनताले नेपाली कांग्रेसलाई पहिलो ठूलो दलको रूपमा विजय गराएको भएतापनि अहिले तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रको नेतृत्वमा अप्रत्याशित रूपमा सरकार गठन हुन पुगेका कारण ५ दलीय गठबन्धनले जनता सामु गरेका प्रतिबद्धताहरू सरकारमार्फत पुरा गर्ने अवसरबाट नेपाली कांग्रेस पनि वञ्चित हुन पुगेको छ ।’
अर्का महामन्त्री विष्णुप्रसाद लामिछानेले कांग्रेसले पाएको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्ने बताए ।








