नेपाल भित्रियो विश्वप्रसिद्ध एकोर ग्रुप, ‘मर्क्यूर’ नाममा ‘दि मेट्रोपोलिटिन’ हाेटेलकाे व्यवस्थापन गर्ने

काठमाडौँ । होटल व्यवसायमा विश्व प्रसिद्ध एकोर ग्रुप नेपालमा भित्रिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य एवं एनआरएन तथा राष्ट्रिय समितिका सभापति देशबन्धु बस्नेत (अजित)ले उक्त ग्रुपलाई नेपालमा भित्र्याएका हुन् ।

बस्नेतले नेपालमा आफूले सञ्चालनमा ल्याउन लागेको दि मेट्रोपोलिटन होटलको व्यवस्थापनमा विश्वप्रसिद्ध एकोर समूह भित्र्याएका हुन् । उक्त होटेललाई एकोर समूहले ‘मर्क्यूर’ ब्रान्डको नाममा सञ्चालनमा ल्याउने भएको छ । भारतको नयाँ दिल्लीमा उक्त ब्रान्डलाई नेपालमा भित्र्याउन एकोर र दि मेट्रोपोलिटिनबीच सम्झौता भएको हो ।

होटल व्यवस्थापनको लागि विश्वकै चर्चित समूह एकोर ग्रुपको व्यवस्थापनमा नेपालमा पहिलो होटल सञ्चालन हुने पाँच तारे होटल दि मेट्रोपोलिटनमा बस्नेतको लगानी रहेको छ । एसिया, युरोप, अफ्रिका एवम् मध्यपूर्वका १०० बढी देशका ५ हजार ३ सय बढी होटलहरुको व्यवस्थापन हेरिरहेको उक्त समूहले नेपालमा पहिलो पटक दि मेट्रोपोलिटनमा मर्क्यूर ब्रान्डमा होटेलको व्यवस्थापन सम्हाल्ने भएको हो ।

उक्त सम्झौतामा दि मेट्रोपोलिटन होटेलका अध्यक्ष बस्नेत र एकोरका वरिष्ठ उपाध्यक्ष पुनित देवानले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता पश्चात् दि मेट्रोपोलिटिनका अध्यक्ष बस्नेतले एकोरसँगको सहकार्यले आपसी समझदारी र सहकार्यको दीर्घकालीन सम्बन्धको सुरुवात गरेको बताए । ‘विश्वस्तको ब्रान्डलाई नेपालमा ल्याउन पाउनु गौरवको विषय हो,’ उनले भने, ‘यसले नेपालमा आउने आगन्तुकहरूले विश्व स्तरीय हस्पिटालिटी सेवा लिन पाउने अवसर सृजना भएको छ ।’

उक्त सम्झौताले नेपालको पर्यटनको विकासमा ठूलो सहयाेग पुग्नुका साथै एकोरले नेपालमा आउने विदेशी पाहुनाहरूलाई विश्व स्तरीय सेवाको साथमा नेपाली परम्पराअनुसारको आतिथ्य दिने एकोरका वरिष्ठ उपाध्यक्ष पुनित देवानले बताए ।

एकोरले नेपालमा कर्क्यूर ब्राण्डको नामबाट १०५ कोठो पाँच तारे होटल सञ्चालनमा ल्याउने छ । काठमाडौँको सुकेधारमा निर्माणाधीन १० तले उक्त पाँच तारे होटेलमा जिम, स्वीमिङपुल लगायत पाँच तारे होटेलमा आवश्यक सबै सुविधा उपलब्ध हुनेछन् । उक्त सम्झौतामा सो होटेललाई सन् २०२३ भित्रै सञ्चालनमा ल्याउने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *