काँग्रेस नेता पाण्डे भन्छन्: ‘म चढेको प्लेन पोखरामा ल्याण्ड भयो, तर राजनीति क्र्यास भयो’

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका सांसद सुरेन्द्रराज पाण्डेले गठबन्धन टुट्नु राजनीतिक क्र्यासको रूपमा लिएका छन् ।

सोमबार पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘म काठमाडौँबाट चढेको प्लेन पोखरामा सुरक्षित रूपमा ल्याण्ड भयो । तर राजनीतिक घटनाक्रम सबै क्र्यास भयो ।’ उनले आइतबार दिउँसो काठमाडौँबाट पोखरा आएका थिए ।

धेरैले उनैलाई भावी मुख्यमन्त्रीको रूपमा प्रस्तुत गरेका थिए ।

नेपाली काँग्रेसको संसदीय दलको नेता छान्न बुधबार निर्वाचन तोकिएको छ । पाण्डे दलको नेता बनेर मुख्यमन्त्री बन्ने दाउमा थिए । तर उनैले भनेझैँ पाण्डे सहित नेपाली कांग्रेसका अधिकांश सांसदहरूको सपना क्र्यास भएको छ ।

पाण्डेले गठबन्धन भित्रैका नेताहरूले गठबन्धन जोगाउने प्रयास नगरेको टिप्पणी गरे । ‘गठबन्धन जोगाउने धर्म काँग्रेस, माओवादी सबैको हो । त्यो धर्म पूरा गरेको देखिएन ।

म कुनै व्यक्ति विशेषलाई दोष दिन्नँ । विचार, सिद्धान्त र आदर्शको राजनीति स्खलित भएको छ,’ उनले भने, ‘नेताहरू राजनीतिलाई ट्रयाकमा ल्याउने भन्दा पनि व्यक्तिगत स्वार्थमा मात्रै अघि बढेको देखियो ।’ उनले नयाँ गठबन्धनको आयु लामो नहुने सङ्केत गरेका छन् । ‘संविधान नमान्ने, राजतन्त्र फर्काउनुपर्छ भन्ने, राजतन्त्र चाहिँदैन गणतन्त्रमा जानुपर्छ भन्नेहरू एकै ठाउँमा छन्,’ उनी भन्छन्, ‘यसको आयु भोलिका दिनले देखाउला ।’

केन्द्रीय राजनीतिक गठबन्धनले गण्डकीमा पनि असर परेको छ । यहाँ पनि एमाले र माओवादी सहित गठबन्धनको बहुमत पुग्छ । त्यसैले काँग्रेस प्रमुख प्रतिपक्षी दल बन्ने पक्का भएको छ । पाण्डेले आफूहरू रचनात्मक प्रतिपक्षीको रूपमा रहने बताए । ‘अब राइलो काढ्नपर्ने केही पनि छैन । काँग्रेसले सकारात्मक रूपमा रचनात्मक भावनाका साथ सहयोग गर्छ,’ भन्छन्, ‘अब बन्ने सरकारको गुण र दोषका आधारमा समर्थन र विरोध गर्छ ।’

उनले संसदीय दलको नेता भने सर्वसम्मत रूपमा नै चयन हुने दाबी गरेका छन् । पाण्डेले अहिलेको राजनीतिक घटनाक्रम आफ्नो लागि भने अप्रत्याशित नभएको बताएका छन् । ‘प्रचण्ड जी निर्वाचन लड्नुभएको क्षेत्रबाटै म प्रदेश सभामा उम्मेदवार थिएँ । त्यति बेला उहाँसँग मेरो हिमचिम थियो । परिवारसँग सम्बन्ध बढेको थियो ।

परिवारका सदस्यहरूसँग गरेको कुराहरू सुन्दा मेरा लागि यो घटना अनपेक्षित थिएन,’ उनले भने, ‘मैले हुन सक्ने घटनाका बारेमा केन्द्रीय नेतृत्वलाई जानकारी गराएको पनि थिएँ । तर सुनुवाइ भएन ।’ ६० सदस्यीय गण्डकी प्रदेश सभामा काँग्रेसले २७ सिट पाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 11 =