अघिल्लो मेयरले थपेको पोखराको पार्किङ ठेक्का म्याद तोडियो

पोखरा । पोखरा महानगरपालिकाले सडकमा पार्किङ शुल्क उठाउने ठेक्का रद्द गरेको छ । अघिल्लो कार्यकालमै थपिएको म्याद अहिले तोडिएको छ ।
पूर्व मेयर मानबहादुर जिसीले कोरोनाको समय भन्दै ठेक्का सकिएपछि पनि ४ महिना म्याद थपिदिएका थिए । २०७७ कात्तिक १४ गते गरिएको ठेक्का सम्झौता गत मंसिर २७ गतेदेखि सकिएको छ । तर अहिले पनि ठेकेदारले शुल्क उठाउन छोडेका छैनन् ।
फेवा सावित्री जेभिसँग सडक पार्किङको शुल्क उठाउने सम्झौता मेयर जिसीले कार्यकालको अन्तिममा ४ महिना थपिदिएका थिए । शुक्रबार बसेको कार्यपालिका बैठकले पार्किङ म्याद रद्द गर्ने निर्णय गरेको हो । ठेकेदार कम्पनीले तिर्नुपर्ने बाँकी बक्यौता नतिरेपछि ठेक्का तोडिएको मेयर धनराज आचार्यले बताए । महानगरले ठेकेदारसँग ३ करोड १६ लाख ७० हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
ठेकेदार कम्पनीले महानगरलाई १ करोड ९० लाख रुपैयाँ तिर्नुपर्ने देखिएको छ । धेरै पटक ताकेता गर्दा समेत अटेर गरेपछि ठेक्का तोडेको उनले सुनाए । महानगरले अब सहरको मुख्य क्षेत्रमा पार्किङ निषेध गरेको छ । तर मुख्य क्षेत्र छुट्याइएको छैन । अन्डरग्राउण्ड पार्किङ र निजी जग्गालाई पनि पार्किङमा प्रयोग गर्ने महानगरले जनाएको छ ।








