पार्टी नेतृत्वतर्फ गगन थापाको पाइला : एक नयाँ यथार्थ 

काठमाडाैँ । नेपाली कांग्रेस संसदीय दलको नेताको लागि बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म मतदान हुँदैछ । संसदीय दलको नेतामा उम्मेदवार जम्मा दुई जना – सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइरालादेखि प्रकाशमान सिंह समेतको संसदीय दलको नेतामा चुनाव लड्ने तयारी रहेको चर्चाका बीच मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेर सभापति देउवा र महामन्त्री थापाले मात्रै उम्मेदवारी दर्ता गरे ।
सभापति देउवाको प्रस्तावक रामचन्द्र पौडेल र पूर्णबहादुर खड्का समर्थक बसेका छन् । महामन्त्री थापाको उम्मेदवारीमा नेता शेखर कोइराला उनको प्रस्तावक बनेका छन् भने उनलाई उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेलले समर्थन गरेका छन् ।
आज सिंहदरबार सामुन्नेको होटल बसेरामा बसेको इतर देउवा पक्षीय बैठकमा गगन साझा उम्मेदवार बन्दै गर्दा अर्का आशा गरिएका नेता प्रदीप पौडेल पनि साथ दिन आइपुगेका थिए । झापामा चुनाव जितेलगत्तै संसदीय दलको नेतामा थापालाई प्रस्ताव गर्ने घोषणा गरेका महामन्त्री विश्वप्रकाश शर्मा साथमा छँदैछन् ।
गगन थापालाई कांग्रेसका प्रभावशाली युवा नेताहरूको पनि समर्थन छ । संस्थापन इतर पक्षबाट पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवार बनेका थापालाई कांग्रेसका प्रदीप पौडेल, मीनेन्द्र रिजालसमेतले थापालाई साथ दिएका छन् । जसमा मीनेन्द्र सांसद भने होइनन् । तर, उनीनिकट सांसदहरूसँग गगनको पक्षमा मत मागिरहेका छन् । कांग्रेसमा पुस्तान्तरणको आवाज उठिरहेका बेला युवा नेताहरूमा समेत कांग्रेस परिवर्तनको हुटहुटी देखिएको छ । यसकारण संसदीय दलको नेतामा चुनाव हारे पनि पार्टी नेतृत्वतर्फ गगन थापाको पाइला नयाँ यथार्थ बन्न पुगेको छ । यसपटक चुनाव हारे पनि उनी संसदीय दलको नेतामा हजुरबुबा पुस्ताका शेरबहादुर देउवापछिका नेता नाति पुस्ताका थापा हुनेछन् ।
चुनाव जित्न पनि थापालाई केही सांसद मात्रै अपुग हुने देखिएको हो । शेखर कोइराला र गगन थापाकाबीच सहमति जुटेसँगै कांग्रेसभित्र शेरबहादुर देउवा समूह इत्तरसमूहसँग ३९ सांसद संख्या पुगेको छ । ८९ सदस्यीय कांग्रेस संसदीय दलमा संसदीय दलको नेता बन्न कम्तीमा ४५ मत ल्याउनुपर्छ । अंकगणितमा अझै केही पछि देखिए पनि गगन थापा कांग्रेस समर्थक मात्रै नभई आम नागरिकको आशा आफूतिर आकृष्ट गर्न सफल भएका छन् । अर्थात्, कांग्रेसको नेतृत्व ग्रहणतर्फ गगन थापाको पाइला नयाँ यथार्थ बन्न गएको छ । यसका लागि शेखरले गरेको योगदान स्मरणीय छ ।
संसदीय दलको नेता चयनमा कांग्रेसबाट निर्वाचित भएका सांसदहरू मतदाता हुन्छन् । यसपटक ८९ जना सांसद छन् । संसदीय दलको विधानबमोजिम निर्वाचित हुन ५० प्रतिशत मत कटाउनैपर्ने हुन्छ । यसअनुसार संसदीय दलको नेता बन्न ४५ सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ । कांग्रेसमा संसदीय दलको नेता जो बन्छ, उही सरकारको प्रधानमन्त्री बन्ने अभ्यास छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =