रेशम रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरसहित)

काठमाडौँ । टीकापुर घटनामा दोषी ठहर भई जन्मकैद सजाय भोगिरहेका रेशम चौधरीको रिहाइको माग गर्दै नागरिक उन्मुक्ति पार्टीले शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष चौधरी हाल डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका छन् । पछिल्लो आम निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले केही सिट जितेपछि उसलाई सत्ता गठबन्धनमा सामेल गरी सरकार बनाउन सरकारले अध्यादेशमार्फत कानुन संशोधन गर्ने कोसिस गरिहेको छ । यद्यपी संसद गठन हुनै लागेका बेला सरकारले ज्यानमुद्दाका दोषीलाई समेत अध्यादेशमार्फत कानुन उल्ट्याएर उन्मुक्ति दिन लागेको भन्दै यसको चौतर्फी विरोध भइरहेको छ । यसै पृष्ठभूमिमा चौधरीले उन्मुक्ती पाउनु पर्ने मागसहित नागरिक उन्मुक्ति पार्टीले मौन प्रदर्शन गरेको हो ।

पार्टीका केन्द्रीय सदस्य तथा सुदुर पश्चिम प्रदेश २ का प्रदेश सांसद रामेश्वर चौधरीको नेतृत्वमा पार्टीका कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।

प्रदेश सिमांकनको विरोध गर्दै २०७२ साल भदौ ७ गते चौधरी नेतृत्वको हतियारधारी जत्थाले ७ जना प्रहरीको हत्या गरेको थियो । जनपद प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित इन्स्पेक्टर बलराम विष्ट र केशव बोहोरा, प्रहरी जवान लक्ष्मण खड्का र लोकेन्द्र चन्द, सशस्त्र प्रहरी हवल्दार रामबिहारी थारु र सहायक हवल्दार ललित साउदलाई करिब ८ १० हजारको संख्यामा रहेको हतियारधारीले विभत्स तरिकाले हत्या गरेका थिए । सहायक हवल्दार नेत्र साउदका छोरा  २ वर्षीय टेकबहादुर साउदको पनि सो क्रममा हत्या भएको थियो ।

प्रतिनिधिसभा निर्वाचन २०७४ मा राजपाका तर्फबाट कैलाली क्षेत्र नं. १ बाट चौधरी विजयी भएका थिए । तर कैलाली जिल्ला अदालतले चौधरीलाई टीकापुर हत्याकाण्डको मुख्य योजनाकारका रूपमा दोषी ठहर गर्दै पुर्पक्षका लागि जेल पठाउन आदेश दिएको थियो ।

चुनावका बेला पनि चौधरी भारतमा भूमिगत रहेका थिए । भूमिगत अवस्थामै रहेका चौधरीलाई प्रहरीले फरार अभियुक्तको रूपमा खोजी गरिरहेको थियो । सञ्चारउद्यम र होटल व्यवसायको आवरणमा हिंसात्मक भड्कावपूर्ण गतिविधि गरिरहेका चौधरी मुद्दाको प्रतिवाद गर्न कैलाली जिल्ला अदालत आएका थिए । टीकापुर घटनाको झन्डै ३० महिनापछि अदालत पुगेका चौधरीलार्इ प्रहरीले नियन्त्रणमा लिएर पुर्पक्षका लागि जेल जलान गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − one =