जेसीबी खस्दा कर्णालीमा बेपत्ता २ जनाको शव फेला

काठमाडौँ । कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका १ स्थित कर्णाली नदिमा मंसीर २४ गतेदेखि बेपत्ता दुई जनाको शव फेला परेको छ। फुकोट जलविद्युत आयोजनाको जेसीबी दुर्घटना हुँदा बेपत्ता भएका तीन जना मध्ये दुई जनाको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको हो।
सशस्त्र प्रहरीका सहायक प्रबक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बेपत्ता भएका मध्ये सोही गाउँपालिका १ बस्ने २० वर्षिय उमेश गिरीको शव मंसीर २६ गते र कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका ४ बस्ने २३ वर्षिय जेसीबीका चालक मंगल चुडारीको शव मंसीर २७ गते फेला परेको हो।
सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म कालिकोट र नम्बर ४२ रिजर्भ गण बाँकेबाट गएको गोताखोरले गिरी र चुडारीको शव फेला पारेको हो। उनीसँगै दुर्घटनामा परी हराईरहेका सोही गाँउपालिकाका १९ वर्षिय रक्तिम सार्कीको खोजीकार्य जारी छ।
यही मंसीर २४ गते सो आयोजनाको सुरुङ्गभित्र पानी हेरी फर्कदै गरेको प्रदेश नं. ३–०१–००३ क ६७७४ नम्बरको जेसीबी कर्णाली करिडोरबाट अन्दाजी ८० मिटर तल कर्णाली नदिमा खस्न गई दुर्घटना हुँदा जेसीबीमा रहेका ८ जना मध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो । ३ जना घाईते र ३ जना बेपत्ता भएका थिए ।









