समानुपातिक सांसद छनोटमा एमाले गोरखाको असन्तुष्टी, नेताहरु बालकोट पुगे

पोखरा । नेकपा एमालेले गण्डकी प्रदेशको समानुपातिक सांसद छनोटमा अन्याय गरेको भन्दै गोरखाका नेता कार्यकर्ताहरू बालकोट पुगेका छन् । गोरखाबाट बन्द सूचीमा परेका आदिवासी जनजाति तर्फ दोस्रो नम्बरमा रहेका प्रेम गुरुङलाई सांसद नबनाई खस आर्यतर्फ दोस्रो नम्बरमा रहेका प्रकाश केसीलाई एमालेले सांसद बनाएको छ ।

गण्डकीमा प्रत्यक्षबाट पनि खस आर्य नै बढी निर्वाचित भएका छन् । १२ प्रत्यक्ष सीट मध्ये ८ जना खस आर्य क्लष्टरबाट निर्वाचित भए । जम्मा ३ जना आदिवासी जनजाति निर्वाचित भएका यहाँ समानुपातिकमा पनि खस आर्यलाई नै प्राथमिकता दिइएको आरोप एमाले गोरखाको छ ।

एमालेका नेता राजेन्द्र सराठी एमालेले गोरखालाई ट्रान्जिट पोइन्ट मात्रै बनाएको बताउँछन् । ‘गोरखालाई जुनसुकै राजनीतिक दलले पनि ट्रान्जिट पोइन्ट मात्रै बनाउँदै आएका छन् । एमाले गण्डकी प्रदेशले पनि त्यसको पुष्टि गरेको छ,’ उनले भनेका छन्, ‘गोरखालाई भोट बैङ्कको रूपमा मात्र हेर्ने हो भने प्रदेश सरकार बहिष्कार गरिन्छ । कास्की र बागलुङको मात्रै छुट्टै राज्य बनाए हुन्छ ।’ प्रताप ढकालले पनि पार्टीको निर्णय गलत भएको बताएका छन् । ‘कुनै जिल्लाबाट थानका थान सांसद बनाउँदै गर्दा कमजोर भूमि भन्दै गोरखालाई उपेक्षा गरिएको छ ।

पार्टीले अवसरबाट वञ्चित गराउँदा पनि गोरखा नेतृत्व मौन बस्नु रहस्यमय छ,’ उनले भने, ‘दोस्रो तहका नेता कार्यकर्ताले गुनासो गरिरहेका छन् । नेतृत्व पंक्ति किन बोल्दैन ? गोरखाले किन प्रतिनिधित्व पाएन ?’

एमालेले गलत निर्णय गरेको भन्दै गोरखाका सबै पालिका कमिटी अध्यक्षहरू बालकोट पुगेका हुन् । समानुपातिक सीटमा एमालेले समावेशी सिद्धान्त अपनाएको छैन । ११ जिल्ला रहेका यहाँ कास्की र बागलुङबाट मात्रै ८ जना सांसद बनाएको छ । एमालेले समानुपातिक तर्फ १० सीट पाएको हो । समानुपातिकमा बागलुङका गोविन्दबहादुर नेपाली, लिलाबहादुर थापा, विनाकुमारी थापा र कृष्णप्रसाद पाठक सांसद बनेका छन् ।

कास्कीबाट पनि देवका पहारी, प्रकाशबहादुर केसी, राजकुमारी भुजेल र नन्दकला दमै सांसद बने । यसबाहेक लमजुङकी यशोदा रिमाल र स्याङजाकी निर्मला थापालाई सांसद बनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 7 =