टुर दी पोखराको आवेदन खुल्यो, बागलुङदेखि पोखरासम्म साइकल यात्रा

पोखरा । पुस पहिलो साता आयोजना हुने छैटौं संस्करणको टुर दी पोखराका लागि खेलाडीको आवेदन खुला भएको छ । साइकल सिटी पोखराको आयोजनामा पुष ७ देखि ९ गते टुर दि पोखरा हुँदैछ ।
२ वर्ष कोरोनाका कारण स्थगीत भएको इभेण्ट यो वर्ष भव्य मनाउन लागिएको संयोजक राजन गोंगजुले बताए । टुर दी पोखराको पूर्व सन्ध्यामा पोखरामा पुष ६ गते दोश्रो राष्ट्रिय मेयर कप साइकल दौड प्रतियोगिता हुने छ । करिब २० किलोमिटर साइकल प्रतियोगिताका विजेतालाई नगद ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउने महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपक गोदारले जानकारी दिए ।
साइकल सिटीले टुर दी पोखरा कार्यक्रम हरेक वर्ष आयोजना गर्दै आएको छ । टुर दी पोखरा अन्र्तगत फ्रान्समा हुने साइकल टुर कै झल्को दिने गरी ७२ किलोमिटर दुरीमा बागलुङको कालिका मन्दिरबाट पोखराको विन्ध्यावासिनी मन्दिर जोड्ने गरी यात्रा तय गरिएको गोंगजुले जानकारी दिए ।
कम्तिमा एक दिन साइकल चढेर पेट्रोलियम खपत घटाउने अभियान आफुहरुले सुरु गरेको उनले बताए । ‘साइकल सँधै चढ्नु राम्रो । नसके एक दिन भएपछि साइकल चढ्दा धेरै पेट्रोलियम खपत घट्छ,’ उनले भने, ‘वातावरणलाई सफा राख्नका लागि यो कार्यक्रम आयोजना गरेका हौं । हाम्रा भावि सन्ततीका लागि पनि यही अभियान हस्तान्तरण गर्न चाहान्छौं ।’
पुष ९ गते पोखरामा करिब १९ किलोमिटर साइकल र्याली हुने भएको छ भने सोही दिन रक्तदान कार्यक्रम आयोजना गरिएको छ । र्यालीमा करिब १ हजार ५ सय जना सहभागि हुने अनुमान आयोजकको छ ।








